काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहले हरिबहादुर पाण्डे क्षेत्रीको नेतृत्वमा आफ्नो चुनावी प्यानल घोषणा गरेको छ। शुक्रबार काठमाडौंको सुकेधारामा आयोजित घोषणा सभा मार्फत समूहले व्यवसायीहरूको हकहित संरक्षण तथा वैदेशिक रोजगार क्षेत्रको सुधारलाई केन्द्रमा राख्दै पाँच बुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेको हो।
समूहले अध्यक्षमा हरि बहादुर पाण्डे क्षेत्री, प्रथम उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्ष पदका उम्मेदवार कृष्ण ढकाल , महासचिवमा नूर मोहम्मद मियाँ, सचिवमा नवराज लुईंटेल र कोषाध्यक्षमा विनिता कटुवाललाई उम्मेदवार बनाएको छ। सदस्य पदका लागि शिवशंकर यादवको उम्मेदवारी घोषणा गरिएको छ भने अन्य पदका उम्मेदवारहरू पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ।
घोषणासभालाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार पाण्डेले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान, व्यवसायीको हकहित संरक्षण, सेवा शुल्क व्यवस्थापन, नयाँ श्रम गन्तव्यको खोजी तथा नीतिगत सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए। उनले व्यवसायी, श्रमिक र राज्य सबैको हित हुने गरी वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन आफूहरूको प्यानल प्रतिबद्ध रहेको दाबी गरे।
प्रथम उपाध्यक्षका उम्मेदवार सञ्जु गुरुङले संघमा रहँदा व्यवसायीहरूको समस्या समाधानका लागि आफूले निरन्तर पहल गरेको उल्लेख गर्दै आगामी दिनमा पनि व्यवसायीहरूको हकहितका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले व्यक्तिगत व्यवसायभन्दा पनि साथी व्यवसायीहरूको समस्या समाधानमा आफू सधैं अग्रसर रहँदै आएको अनुभव सुनाउँदै व्यवसायीमैत्री वातावरण निर्माणमा जोड दिए।
यसैगरी, तृतीय उपाध्यक्ष पदका उम्मेदवार कृष्ण ढकालले व्यवसायीहरूको हकहित संरक्षण, वैदेशिक रोजगार क्षेत्रको सुधार, पारदर्शी तथा उत्तरदायी नेतृत्वको विकास र संस्थागत सुदृढीकरणलाई मुख्य एजेन्डा बनाउँदै आफ्नो प्रतिबद्धतापत्र ९बाचापत्र० सार्वजनिक गरेका छन्। घोषणासभामा बोल्दै उनले व्यवसायीहरूको साझा समस्याको समाधान, संस्थागत एकता तथा संघको गरिमा अभिवृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताए। आगामी नेतृत्वले व्यवसायीको विश्वास जित्ने गरी पारदर्शी र जवाफदेही ढंगबाट काम गर्नुपर्नेमा जोड दिँदै उनले आफ्नो उम्मेदवारी व्यवसायीहरूको अधिकार र सम्मानको पक्षमा केन्द्रित रहने बताए।
महासचिवका उम्मेदवार नूर मोहम्मद मियाँले वैदेशिक रोजगार व्यवसाय विगत एक दशकदेखि विभिन्न समस्या र अन्योलको चपेटामा परेको बताउँदै अब ती समस्याको स्थायी समाधान खोज्ने समय आएको धारणा राखे। उनले भने, “यो व्यवसायले विगत १० वर्षदेखि पिलो बोकेर हिँडिरहेको अवस्था छ, अब त्यो पिलो निचोरेर खिल निकाल्ने बेला आएको छ। हामी त्यो समस्या हटाएर व्यवसायलाई नयाँ दिशामा लैजान चाहन्छौं।” उनले व्यवसायीको सम्मान, अधिकार र व्यवसायको स्थायित्वका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे।
सचिव पदका उम्मेदवार नवराज लुईंटेलले सचिव संस्था र व्यवसायीबीच समन्वय गर्ने महत्वपूर्ण पद भएकाले व्यवसायीका आवाजलाई प्रभावकारी रूपमा सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता जनाए। उनले व्यवसायीले भोगिरहेका प्रशासनिक, कानुनी तथा नीतिगत जटिलताहरूलाई संघमार्फत सम्बोधन गर्न सक्रिय भूमिका खेल्ने बताए।
कोषाध्यक्ष पदकी उम्मेदवार विनिता कटुवालले संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी, उत्तरदायी र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले व्यवसायीहरूको विश्वास जित्ने गरी संघको आर्थिक अनुशासनलाई सुदृढ बनाउने बताइन्।
सदस्य पदका उम्मेदवार शिवशंकर यादवले वैदेशिक रोजगार क्षेत्रका साना तथा मध्यम व्यवसायीहरूको आवाज संघभित्र सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले व्यवसायीका साझा समस्या समाधान, संस्थागत एकता र व्यवसायीहरूको अधिकार संरक्षणका लागि आफूले सक्रिय भूमिका निर्वाह गर्ने बताए।
समूहले सार्वजनिक गरेको पाँच बुँदे प्रतिबद्धतापत्रमा वैधानिक सेवा शुल्कको व्यवस्थापन, मागपत्र प्रमाणीकरण तथा अन्तिम श्रम स्वीकृति प्रक्रियाको सरलीकरण, अन्तर्राष्ट्रिय श्रम बजार प्रवर्द्धन तथा नयाँ गन्तव्य मुलुकको खोजी, वैदेशिक रोजगार क्षेत्रमा रहेका सबै प्रकारका सिन्डिकेट अन्त्य तथा मर्यादित व्यवसाय, सुरक्षित श्रमिक, जवाफदेही सरकार र उत्तरदायी रोजगारदाताको अवधारणालाई स्थापित गर्ने विषय समेटिएका छन्।
स्वतन्त्र समूहले पारदर्शिता, जवाफदेहिता र श्रमिक–व्यवसायीमैत्री नीतिमार्फत वैदेशिक रोजगार क्षेत्रको समृद्धि र संस्थागत सुदृढीकरणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।



























