काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनको पूर्वसन्ध्यामा स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहले हरिबहादुर पाण्डे क्षेत्रीको नेतृत्वमा आफ्नो पूर्ण प्यानल सार्वजनिक गर्दै व्यवसायीहरूको मत मागेको छ।
समूहले अध्यक्ष पदमा नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीलाई उम्मेदवार बनाएको छ। पाण्डेले व्यवसायीहरूको हकहित संरक्षण, वैधानिक सेवा शुल्क व्यवस्थापन, नयाँ श्रम गन्तव्यको खोजी तथा वैदेशिक रोजगार क्षेत्रको नीतिगत सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।
प्रथम उपाध्यक्ष पदमा सञ्जु गुरुङ, द्वितीय उपाध्यक्ष पदमा बालकृष्ण श्रेष्ठ तथा तृतीय उपाध्यक्ष पदमा कृष्ण ढकाल उम्मेदवार रहेका छन्। गुरुङले व्यवसायीहरूको समस्या समाधान र व्यावसायिक एकताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने ढकालले पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री नेतृत्वको आवश्यकता औंल्याएका छन्।
महासचिव पदमा नूर मोहम्मद मियाँ उम्मेदवार रहेका छन्। उनले वैदेशिक रोजगार व्यवसाय लामो समयदेखि विभिन्न समस्या र नीतिगत अन्योलको चपेटामा परेको उल्लेख गर्दै त्यसको समाधानका लागि आफू नेतृत्व तहमा पुग्न चाहेको बताएका छन्।
सचिव पदमा नवराज लुईंटेल उम्मेदवार छन्। उनले व्यवसायीका आवाजलाई प्रभावकारी रूपमा सम्बन्धित निकायसम्म पुर्याउने र संघ तथा व्यवसायीबीच समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। कोषाध्यक्ष पदमा विनिता कटुवाल उम्मेदवार रहेकी छन्। उनले संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउने एजेन्डा अघि सारेकी छन्।
सदस्य पदका लागि शिवशंकर यादव, दिनेश पौडेल क्षेत्री, नरेन्द्र देव मलेकार, सरोज हुसेन, प्रकाश बार्तोला, रविन श्रेष्ठ, निर्मल जी.सी., दिनेश कुमार खड्का, शालिग्राम पाण्डेय र लेखनाथ भुषाल उम्मेदवार रहेका छन्। उनीहरूले व्यवसायीहरूको साझा हकहित, संस्थागत सुदृढीकरण तथा वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समूहले सार्वजनिक गरेको पाँच बुँदे प्रतिबद्धतापत्रमा वैधानिक सेवा शुल्कको व्यवस्थापन, मागपत्र प्रमाणीकरण तथा अन्तिम श्रम स्वीकृति प्रक्रियाको सरलीकरण, अन्तर्राष्ट्रिय श्रम बजार प्रवर्द्धन तथा नयाँ गन्तव्य मुलुकको खोजी, वैदेशिक रोजगार क्षेत्रमा रहेका सिन्डिकेट अन्त्य तथा मर्यादित व्यवसाय, सुरक्षित श्रमिक, जवाफदेही सरकार र उत्तरदायी रोजगारदाताको वातावरण निर्माण गर्ने विषय समेटिएका छन्।
संघको कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनमा सहभागी हुन ८ सयभन्दा बढी व्यवसायीले सदस्यता शुल्क तथा लेबी बुझाइसकेका छन्। व्यवसायीहरूले यस निर्वाचनलाई संघको नयाँ नेतृत्व चयनसँगै वैदेशिक रोजगार क्षेत्रको भावी दिशा तय गर्ने अवसरका रूपमा समेत हेरिरहेका छन्।



























