पोखरा । संयुक्त अरब इमिरेट्स (यूएई) को वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ। कम्पनीले सो मितिदेखि दैनिक उडान सञ्चालन गर्ने गरी टिकट बुकिङसमेत खुला गरिसकेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुनिश्चित भएपछि पर्यटन तथा व्यवसायिक क्षेत्र उत्साहित बनेको छ। यससँगै विमानस्थलबाट पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु हुने भएको हो।
प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र सांस्कृतिक सम्पदाका कारण विश्वभर परिचित पोखरामा अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तार भएसँगै पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना खुलेको सरोकारवालाले बताएका छन्। यसअघि विमानस्थलबाट चीन, भुटानलगायत मुलुकमा चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान मात्र सञ्चालन हुँदै आएका थिए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुबई उडानलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। उनका अनुसार यो केवल नयाँ हवाई सेवा थपिने विषय मात्र नभई पर्यटन प्रवर्द्धन, विदेशी लगानी आकर्षण तथा काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसर पनि हो।
होटल संघ नेपालका केन्द्रीय सदस्य भरत पराजुलीले यूएईका राजदूतसँग पर्यटन आदान–प्रदान तथा पोखरा–दुबई सिधा उडान सञ्चालनका विषयमा भएको छलफल सकारात्मक र उपलब्धिमूलक रहेको स्मरण गर्दै नियमित उडानले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताए।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले दुबई उडानले पोखराको पर्यटन उद्योगलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे। महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) की अध्यक्ष ममता न्यौपानेले पोखरा–दुबई नियमित उडानले पोखराको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोड्ने अवसर सिर्जना गरेको बताइन्।
दैनिक उडान सञ्चालनमा आएपछि गण्डकी प्रदेश तथा आसपासका जिल्लाका वैदेशिक रोजगारीमा जाने युवा, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रुसमेत प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
फ्लाई दुबईले सञ्चालन गर्ने उक्त सेवाका लागि यात्रुले कम्पनीको आधिकारिक वेबसाइट तथा मान्यता प्राप्त ट्राभल एजेन्सीमार्फत टिकट बुकिङ गर्न सक्ने जनाइएको छ।



























