काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउन निश्चित वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)लाई फाइदा पुग्ने गरी ‘सिन्डिकेट’ गराउन खोजिएको भन्ने समाचारप्रति युवा, श्रम तथा रोजगार मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मन्त्रालयलाई समेत जोडेर निश्चित व्यवसायीलाई लाभ पुग्ने गरी मलेसिया रोजगारीमा एकाधिकार कायम गर्न खोजिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो।
मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। कुनै पनि किसिमले प्रतिस्पर्धालाई सीमित तुल्याउने वा सीमित व्यवसायीको एकाधिकार कायम हुने अवस्था सिर्जना हुन नदिन मन्त्रालय सचेत र क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयका अनुसार वैदेशिक रोजगारसम्बन्धी विद्यमान नीति, कानुन तथा प्रक्रियागत पक्षमा सुधार गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सेवाप्रवाहमा सुधारका काम भइरहेको छ। यस्तो अवस्थामा मन्त्रालयको कामलाई ओझेलमा पार्ने र विषयान्तर गर्ने गरी अफवाह तथा भ्रम फैलाउने कार्य गलत र तथ्यमा आधारित नभएको मन्त्रालयको भनाइ छ।
मलेसिया सरकारले समेत यस विषयमा कुनै आधिकारिक जानकारी नदिएको मन्त्रालयले जनाएको छ। सम्बन्धित विषयमा गन्तव्य मुलुकबाट कुनै किसिमको आधिकारिक सूचना प्राप्त नभएको स्पष्ट पार्दै मन्त्रालयले अनावश्यक भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ।
मन्त्रालयले वैदेशिक रोजगार व्यवसायलाई प्रतिस्पर्धी, पारदर्शी र व्यावसायिक बनाउन गन्तव्य मुलुकसँग कूटनीतिक पहलमार्फत वैदेशिक रोजगारीलाई स्वच्छ, नैतिक तथा प्रतिस्पर्धी बनाउने प्रयास भइरहेको जनाएको छ।
मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउने कार्यमा सम्बन्धित सबै पक्षको सहयोग र सहकार्यको अपेक्षा समेत गरेको सुचनामा उल्लेख छ ।




























