काठमाडौं, साउन १८ — नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्व अध्यक्ष प्रज्ञान न्यौपानेले वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित नीतिगत विषयमा नेपाल सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।
उनले वैदेशिक रोजगार व्यवसायीहरूको आधिकारिक छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघ भएकाले सरकारसँगको संवाद, आधिकारिक धारणा, प्रेस विज्ञप्ति तथा पत्राचार पनि संघकै नामबाट स्पष्ट रूपमा हुनुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा सञ्चारमाध्यममा विज्ञप्ति जारी गर्ने वा प्रचारप्रसार गर्नेभन्दा सरकारसँग प्रत्यक्ष संवाद गरी समाधान खोज्नु प्रभावकारी हुन्छ।
न्यौपानेले संविधान, प्रचलित कानुन तथा नियमावलीअनुसार इजाजतप्राप्त सबै वैदेशिक रोजगार व्यवसायीलाई समान व्यवहार हुनुपर्नेमा जोड दिँदै कुनै पनि व्यवसायीलाई विशेष सुविधा वा छुट्टै कानुनी व्यवस्था दिन नहुने बताए। एउटै कानुनअन्तर्गत इजाजतपत्र प्राप्त गरेका व्यवसायीलाई फरक व्यवहार गर्नु संविधान र कानुनको मर्मविपरीत हुने उनको भनाइ थियो।
उनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई पत्रपत्रिका र सञ्चारमाध्यममा विज्ञप्ति प्रकाशित गरेर मात्र सीमित नबस्न आग्रह गर्दै, सिन्डिकेट वा एकाधिकार कायम गर्न खोज्ने व्यक्ति तथा संस्थाको नाम, विवरण र प्रमाण संकलन गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बुझाएर कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाउन सुझाव दिए।
वैदेशिक रोजगार क्षेत्रमा कुनै पनि प्रकारको सिन्डिकेट, एकाधिकार तथा कानुनविपरीतका गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै न्यौपानेले यस्ता विषयको समाधान संवाद, कानुनी प्रक्रिया र नीतिगत सुधारमार्फत खोजिनुपर्ने धारणा व्यक्त गरे।



























