काठमाडौं । गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले चालु आर्थिक वर्षको बजेट शिक्षा, कृषि, पूर्वाधार विकास, पर्यटन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर ल्याइएको बताएका छन्।
उनले सीमित स्रोत–साधनका बाबजुद सबै क्षेत्रलाई समेट्ने गरी बजेट विनियोजन गरिएको, उत्पादनमा आधारित कृषि अनुदानलाई विस्तार गरिएको, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवासीय विद्यालयको अवधारणा अघि बढाइएको तथा पर्यटन पूर्वाधार विकासलाई निरन्तरता दिइएको बताए।
अध्यक्ष कार्कीका अनुसार आफ्नो कार्यकाल सुरु हुँदा एसईई उत्तीर्णदर करिब १५ प्रतिशत रहेकामा अहिले ८० प्रतिशत पुगेको छ। साथै, आठवटा साना विद्यालयलाई मर्ज गरी गुणस्तरीय शिक्षामा जोड दिइएको र माध्यमिक विद्यालयलाई क्रमशः पूर्ण तथा आंशिक आवासीय विद्यालयका रूपमा विकास गर्ने योजना कार्यान्वयन भइरहेको छ।
कृषि तथा पशुपालन क्षेत्रमा उत्पादनका आधारमा अनुदान, किसान प्रोत्साहन तथा स्थानीय स्रोतमा आधारित स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको उनले बताए। बाख्रा, भेडा, चौंरी, भैंसी, कुखुरा तथा फलफूल खेतीलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।
पर्यटन प्रवर्द्धनका लागि बेदिङ क्षेत्रमा विद्युत्, इन्टरनेट, टेलिफोन सेवा विस्तार, पदमार्ग सुधार, सूचना बोर्ड स्थापना, सरसफाइ अभियान तथा होमस्टे सञ्चालनसम्बन्धी तालिम सञ्चालन गरिएको अध्यक्ष कार्कीले जानकारी दिए।
उनले गौरीशंकर संरक्षण क्षेत्रसँग आवश्यक समन्वय अभावका कारण पुल, सडक लगायतका पर्यटन पूर्वाधार निर्माणमा समस्या भइरहेको उल्लेख गर्दै संरक्षण क्षेत्रको कार्यक्षेत्र र स्थानीय सरकारको अधिकार स्पष्ट हुनुपर्ने आवश्यकता औँल्याए। साथै, संघ र प्रदेश सरकारका योजनामा स्थानीय तहसँग पर्याप्त समन्वय हुनुपर्नेमा पनि उनले जोड दिए।



























