काठमाडौं । वैदेशिक रोजगार विभागले भारतीय विमानस्थलबाट कामदार वैदेशिक रोजगारीमा पठाएको प्रकरणमा थप कारबाहीको विवरण सार्वजनिक गरेको छ। विभागले यसअघि सचेत गराइएका ५९८ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ३९ वटा कम्पनीलाई दोस्रो पटक कसुर कायम गर्दै प्रत्येकलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको जनाएको छ।
यस्तै, थप १२४ वटा म्यानपावर कम्पनीलाई पनि दोस्रो पटक कसुर कायम गरी किन ५० हजार रुपैयाँ जरिवाना नगर्ने भन्ने विषयमा सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कोभिडपछिको प्रतिकूल अवस्थामा सरकारकै सहमतिमा भारतीय विमानस्थल प्रयोग गरी कामदार पठाइएको घटनालाई कसुर कायम गर्न नहुने भन्दै युवा, श्रम तथा रोजगारमन्त्रालय तथा वैदेशिक रोजगार विभागसँग निरन्तर आग्रह गरिरहेको अवस्थामा विभागले मंगलबार आफ्नो वेबसाइटमार्फत थप कारबाहीको विवरण सार्वजनिक गरेको हो।
विभागका अनुसार ३९ वटा इजाजतप्राप्त संस्थाले विभागको पूर्वस्वीकृति बिना विदेशी विमानस्थल प्रयोग गरी कामदारलाई वैदेशिक रोजगारीमा पठाएको पुष्टि भएपछि जरिवाना गरिएको हो।
त्यसैगरी, १२४ वटा इजाजतप्राप्त संस्थाले विभागले माग गरेको उडानसम्बन्धी विवरण उपलब्ध गराउन दिएको निर्देशनसमेत पालना नगरेको विभागको भनाइ छ।
विभागले पहिलो पटक विवरण माग गर्दा अभिलेख व्यवस्थापनमा समस्या भई समयमै पूर्ण विवरण उपलब्ध गराउन नसकेका तर पछि आवश्यक विवरण बुझाएका संस्थाहरूको हकमा भने असार २६ गते गरिएको प्रारम्भिक कारबाही कार्यान्वयन नगर्ने निर्णय गरिएको जानकारी दिएको छ। यस सम्बन्धमा सम्बन्धित संस्थाहरूलाई पत्राचारसमेत गरिएको विभागले जनाएको छ।
यस विषयमा विभाग र व्यवसायीबीच विवाद कायम रहेकाले आगामी दिनमा मन्त्रालयले लिने निर्णयलाई व्यवसायीहरूले चासोका साथ हेरेका छन्।



























