काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधन तथा पूर्वाधारको क्षति र विपद्पछिको सहयोगलगायत विषयमा छलफल भएको थियो ।
भेटमा उपराष्ट्रपति यादवले भोटेकोशी बाढीमा नेपाली, चिनियाँ तथा अन्य विदेशी नागरिकको मृत्यु तथा सम्पत्ति र पूर्वाधारमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै चिनियाँ उपराष्ट्रपति हान झेङमार्फत चीन सरकार तथा जनताप्रति समवेदना व्यक्त गरे ।
यादवले भोटेकोशी बाढीले जीवन र सम्पत्तिसँगै हजारौं परिवारको सपना, संस्कृति तथा प्राकृतिक सम्पदामा समेत असर पारेको बताए । पूर्वाधार पुनर्निर्माण गर्न सकिए पनि प्रभावित नागरिकको विश्वास पुनःस्थापित गर्न लामो समय लाग्न सक्ने उनको भनाइ थियो ।
उनले जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि नेपाल प्राकृतिक विपत्तिबाट अत्यन्त प्रभावित मुलुकका रूपमा रहेको उल्लेख गरे । साथै, नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, परम्परागत मित्रता र आपसी सम्मानमा आधारित रहेको बताउँदै नेपाल ‘एक चीन सिद्धान्त’प्रति प्रतिबद्ध रहेको स्पष्ट पारे ।
उपराष्ट्रपति यादवले विपत्तिपछि चीनबाट पाँच चरणमा प्राप्त मानवीय राहत सहयोग, उद्धारमा खटिएको नौ सदस्यीय सुरुङ उद्धार टोली तथा मृतकको पहिचानमा सहयोग गरिरहेका १५ जना फरेन्सिक विशेषज्ञप्रति आभार व्यक्त गरे ।
त्यस्तै, चीन सरकारले उपलब्ध गराएको २० लाख अमेरिकी डलर तथा चिनियाँ रेडक्रस सोसाइटीमार्फत प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको थप २ लाख अमेरिकी डलर सहयोगका लागि पनि उनले धन्यवाद दिए ।
हिमनदी, जलविज्ञान तथा मौसमसम्बन्धी वास्तविक समयको तथ्यांक उपलब्ध गराएकोमा चीन सरकारप्रति आभार व्यक्त गर्दै यादवले आगामी दिनमा पनि यस्तो सहयोग र तथ्यांक आदान–प्रदान निरन्तर रहने विश्वास व्यक्त गरे ।
भेटमा राजदूत माओमिङले भोटेकोशी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै प्राकृतिक विपत्ति नेपाल र चीन दुवैका लागि साझा विषय भएको बताए । उनले संकटको घडीमा चीनले नेपाललाई आर्थिक, स्वास्थ्य तथा मानवीय सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
“नेपालमा पुनर्निर्माणमा चीनको ठूलो सहयोग र समर्थन रहने छ । नेपालबाट सहयोग सूची प्राप्त भएबमोजिम सहयोग गर्न चीन तयार छ,” राजदूत माओमिङले भने ।
उनले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका विद्यार्थीका लागि चीन सरकारले १ करोड ३० लाख रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको जानकारीसमेत दिए ।
यस अवसरमा उपराष्ट्रपति यादवले जनवादी गणतन्त्र चीनको ७७औँ स्थापना दिवसका अवसरमा चिनियाँ उपराष्ट्रपति हान झेङलाई शुभकामना दिँदै चीनका जनता र सरकारको शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभेच्छा व्यक्त गरे ।



























