काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार)ले व्यवसायीहरू सडकमा आउनुपर्ने अवस्था सिर्जना गर्नु आफ्नो उद्देश्य नभएको बताएका छन्।
सरकारको ध्यानाकर्षण गराउँदै आफ्ना जायज माग र समस्या समाधानका लागि दबाब सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गरिएको उनले स्पष्ट पारे।
अध्यक्ष खत्रीले आफूहरूले उठाएका मागहरू व्यवसायीको मात्र हितसँग सम्बन्धित नभई आम श्रमिकको हित, वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र सम्मानित बनाउने तथा क्षेत्रभित्र रहेका विकृति र विसंगतिको शुद्धीकरणसँग समेत जोडिएको बताए।
यो नेपाल सरकारलाई एटेन्सन गराउने कार्यक्रम हो। सडकमा आएर आन्दोलन गर्नुको मुख्य उदेश्य भनेको कतिपय आवाजहरू नसुन्ने अवस्था भएकाले सरकारको ध्यानाकर्षण गराउन हामीले यो अभियान सुरु गरेका हौँ, उनले भने।
व्यवसायीहरूले उठाएका मागप्रति सरकार गम्भीर भएर इच्छाशक्ति देखाउने हो भने समस्या समाधान गर्न लामो समय नलाग्ने उनको भनाइ छ।
सरकारले इच्छाशक्ति देखाउने हो भने यो एक दिनको काम हो। भोलि नै टुंगिन्छ। यो विषय सरकारको इच्छाशक्तिमा भर पर्छ। सरकारले तत्परता र इच्छाशक्ति देखायो भने यो अभियान भोलिदेखि नै अन्त्य हुन सक्छ,” अध्यक्ष खत्रीले भने उनको अनुसार व्यवसायीहरूले वैदेशिक रोजगार क्षेत्रमा शुद्धीकरण, सुशासन कायम गर्ने तथा श्रमिक र व्यवसायी दुवैको हित सुनिश्चित गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका छन्।
त्यस्तै, त्रुटियुक्त वैदेशिक रोजगार ऐन, २०६४ का सम्बन्धित दफाहरू संशोधन गर्नुपर्ने मागसमेत व्यवसायीहरूले अघि सारेका छन्। ऐन संशोधनको आफ्नै प्रक्रिया र समय हुने भएकाले त्यसलाई आफूहरूले स्वीकार गरेको उनले बताए
वैदेशिक रोजगार ऐन २०६४ को दफा २४ लाई टेकेर सेवा शुल्क व्यवस्थापन र वैज्ञानिक सेवा शुल्कको विषय हामीले उठाएका छौँ। सेवा शुल्क व्यवस्थापन गर्ने विषयमा राज्यले अविलम्ब नीति ल्याउनुपर्छ,” अध्यक्ष खत्रीले भने।
सरकारले व्यवसायीका मागलाई सकारात्मक रूपमा लिएर तत्काल संवाद र नीतिगत पहल अघि बढाए आफूहरूको अभियान पनि सहज रूपमा टुंगिने उनले बताए।




























