काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वसचिव कर्णराज कटुवालले वैदेशिक रोजगार व्यवसायीहरू विगत लामो समयदेखि राज्यका विभिन्न नीति तथा निर्णयका कारण पीडित हुँदै आएको बताएका छन्।
कटुवालले विशेषगरी २०७२ सालदेखि लागू गरिएको ‘फ्री भिसा, फ्री टिकट’सम्बन्धी निर्णयप्रति आफूहरूले सुरुदेखि नै असहमति जनाउँदै आएको बताए। राज्यले वैदेशिक रोजगार क्षेत्रको वास्तविकता र व्यवसायीका समस्या नबुझी हरेक समस्याको दोष व्यवसायीमाथि थोपर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ।
“हामी वैदेशिक रोजगार व्यवसायीहरू विगत २०७२ सालदेखि नै धेरै पीडित छौँ। राज्यस्तरबाट गरिएको ‘फ्री भिसा, फ्री टिकट’ लागू गर्ने निर्णयप्रति त्यतिबेलादेखि नै हाम्रो असहमति रहँदै आएको छ,” कटुवालले भने।
उनले राज्यले तल्लो तहदेखि माथिल्लो तहसम्मको वास्तविकता नबुझी व्यवसायीलाई मात्रै निचोर्ने र व्यवसायीलाई नै दोषी देखाउने भाष्य परिवर्तन गर्नुपर्ने बताए।
“राज्यले सबै कुरा तल्लो निकायदेखि माथिल्लो निकायसम्म बुझ्नुपर्छ। सधैँभरि व्यवसायीलाई निचोर्ने र व्यवसायीलाई नै गलत देखाउने राज्यको जुन भाष्य छ, त्यसलाई चिर्नुपर्छ,” उनले भने।
कटुवालले अहिले व्यवसायीहरूले उठाएको आवाजलाई केवल आन्दोलनका रूपमा नबुझ्न आग्रह गरे। यो वैदेशिक रोजगार व्यवसाय क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सुरु गरिएको अभियान भएको उनको भनाइ छ।
“यसलाई आन्दोलन मात्र नभनौँ, यो हाम्रो सुरुवात हो। वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित गर्न उठाएको आवाज हो। हामी आफैँ व्यवस्थित हुन चाहन्छौँ भने राज्यले पनि परम्परागत सोचबाट बाहिर निस्किएर वर्तमान वास्तविकतालाई बुझ्नुपर्छ,” कटुवालले बताए।
विगतका वर्षहरूमा सरकारसमक्ष पटक–पटक आफ्ना समस्या र माग राख्दै आए पनि अपेक्षित रूपमा सम्बोधन हुन नसकेको उनले गुनासो गरे। पछिल्लो समय बनेको सरकारले भने व्यवसायीका जायज मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्नेमा आफूहरू आशावादी रहेको कटुवालले बताए।
“विगतका वर्षहरूमा हामीले सरकारलाई धेरै पटक वास्तविक समस्या र समाधानका उपायबारे जानकारी गरायौँ। तर उहाँहरूले हाम्रो कुरा बुझ्नुभएन। अहिलेको सरकारले भने हाम्रो मागलाई सम्बोधन गर्नुहुन्छ भन्नेमा हामीले ठूलो विश्वास लिएका छौँ,” उनले भने।




























