काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष लक्ष्मण पौडेलले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।
पौडेलले व्यवसायीलाई वर्षौंदेखि ठगीको आरोप लगाउने भाष्य परिवर्तन गर्नुपर्ने भन्दै सरकारले विद्यमान नीति तथा प्रणालीमा सुधार गर्नुपर्ने बताए। उनका अनुसार व्यवसायी र श्रमिक दुवैको हित सुनिश्चित हुने गरी वैदेशिक रोजगार क्षेत्र सञ्चालन गर्ने वातावरण निर्माण गर्न आफूहरू आन्दोलनमा उत्रिएका हुन्।
‘हामीले धेरै वर्षदेखि व्यवसाय गरिरहेका छौँ। अहिले आएर हामीलाई ठगीको आरोप लाग्ने जुन अवस्था छ, त्यसबाट बाहिर निस्कन पनि नीतिगत सुधार आवश्यक छ,’ पौडेलले भने।
उनले ‘फ्री भिसा, फ्री टिकट’को नीतिको व्यवहारिक कार्यान्वयनमा समेत प्रश्न उठाउँदै पारदर्शी प्रणाली बनाउनुपर्ने बताए। उनका अनुसार श्रमिकबाट हुने आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमार्फत व्यवस्थित गर्न सकेमा वैदेशिक रोजगार क्षेत्रमा देखिएका धेरै समस्या समाधान गर्न सकिन्छ।
‘सरकारले फ्री भिसा, फ्री टिकटको नीति राखेको छ। तर बन्द कोठाभित्र बसेर पैसा लिने अवस्था अन्त्य हुनुपर्छ। हामीले एउटा सिस्टम बनाएर बैंकिङ हिसाबबाट कारोबार गर्न पाउनुपर्छ,’ पौडेलले भने।
पौडेलले वैदेशिक रोजगारमा जाने श्रमिकको हित र अधिकारका लागि समेत व्यवसायीहरू आवाज उठाइरहेको बताए। श्रमिक ठगी तथा अन्य समस्यामा परेमा त्यसको समाधानका लागि स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
उनले नीतिगत सुधारका विषयमा सरकारसँग पटक–पटक वार्ता भए पनि अपेक्षित परिणाम नआएपछि आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए।
‘आन्दोलन गर्नु हाम्रो रहर होइन। नीतिगत सुधारका लागि धेरै पटक वार्तामा बसेका छौँ। विगतका सरकारले गर्न सकेनन्। अहिलेको सरकारले केही गर्न खोजेको अवस्थामा पनि बिचौलियाहरू प्रवेश गरेर वार्ता सफल हुन नदिएपछि हामी आन्दोलनमा आउन बाध्य भएका हौँ,’ पौडेलले भने।
सरकारले व्यवसायीको माग सुन्नुपर्ने उनको भनाइ छ। ‘यो देशको कुरा हो, देशका श्रमिकको कुरा हो, देशका जनताको कुरा हो। हामी पनि यही देशका जनता हौँ। सरकारले हाम्रो कुरा सुन्नैपर्छ,’ उनले भने।
पौडेलले वैदेशिक रोजगार क्षेत्रका सम्पूर्ण कारोबारलाई पारदर्शी बनाउन बैंकिङ प्रणालीमार्फत आर्थिक कारोबार गर्ने व्यवस्था गर्नुपर्ने बताए। साथै, श्रमिक पठाउने क्रममा देखिने समस्या तथा ठगीका घटनामा व्यवसायीलाई समेत कानुनी प्रक्रियाभित्र राखी स्वयमलाई आवश्यक कारबाहीका लागि स्पष्ट अधिकार तथा जिम्मेवारी तोकिनुपर्ने उनको माग छ।
उनले आफूहरूको आन्दोलन अहिले शान्तिपूर्ण रहेको बताउँदै माग पूरा नभएसम्म संघर्ष जारी रहने चेतावनीसमेत दिए।
‘आजबाट सुरु भएको हाम्रो आन्दोलन शान्तिपूर्ण छ। यो कहिलेसम्म जान्छ भन्ने थाहा छैन। तर माग पूरा नभएसम्म हामी लडिरहन्छौँ। हाम्रो माग पनि पूरा हुनुपर्छ र वैदेशिक रोजगारीमा जाने श्रमिकको माग तथा अधिकार पनि सुनिश्चित हुनुपर्छ,’ पौडेलले भने।
उनका अनुसार वैदेशिक रोजगार व्यवसायलाई स्पष्ट नीति, नियम र प्रणालीअन्तर्गत सञ्चालन गर्ने वातावरण सरकारले बनाउनुपर्छ। त्यसबाट व्यवसायी र श्रमिक दुवैको हित सुरक्षित हुने उनको विश्वास छ।




























