काठमाडौं । दोलखा गौरीशंकर गाउँपालिका–५ का वडा अध्यक्ष सुन्दर खड्काले कृषि तथा पशुपालनलाई आत्मनिर्भर बनाउने, युवालाई स्थानीयस्तरमै रोजगारी तथा उद्यमतर्फ आकर्षित गर्ने, स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार गर्ने तथा सामाजिक सुरक्षाको पहुँच सहज बनाउने विषयलाई वडाको प्राथमिकतामा राखिएको बताएका छन्।
उनका अनुसार वडाले कृषि क्षेत्रमा आवश्यक मेसिनरी तथा उपकरणको व्यवस्था गर्दै आएको छ। अघिल्लो वर्ष कृषि क्षेत्रमा करिब ३० लाख रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गरिएको र खेतीपातीलाई सहज बनाउन ट्र्याक्टरलगायतका साधन प्रयोगमा ल्याइएको उनले बताए।
वडा अध्यक्ष खड्काले विद्यालयको शैक्षिक गुणस्तर र नतिजा सुधारका लागि आवश्यक पूर्वाधार तथा कार्यक्रम सञ्चालनमा वडाबाट सहयोग भइरहेको बताए। त्यस्तै, नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसँगै स्वास्थ्य संस्थामाचिकित्सकीय सेवालाइ प्रभावकारी उनकोभनाइ छ।
बालविवाह, घरेलु हिंसा तथा घरेलु मदिराजस्ता सामाजिक समस्या न्यूनीकरणका लागि सचेतनामूलक तथा तालिमका कार्यक्रम सञ्चालन भइरहेको बताउँदै खड्काले महिला तथा बालबालिकासम्बन्धी कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिए।
एकल महिला, ज्येष्ठ नागरिकलगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई सहज सेवा उपलब्ध गराउन बैंकसँग समन्वय गरी टोल तथा बस्तीस्तरमै सेवा पुर्याउने प्रयास गरिएको उनले बताए।
विदेशबाट फर्किएका युवाको सीप, अनुभव र लगानीलाई स्थानीय उत्पादनसँग जोड्ने विषयमा पनि वडा सकारात्मक रहेको खड्काको भनाइ छ। विदेशबाट फर्किएका युवाले कृषि, तरकारी खेती, आलु खेती, पशुपालनलगायतका व्यवसाय सञ्चालन गर्न चाहेमा वडाबाट आवश्यक समन्वय तथा सहयोग गर्ने नीति रहेको उनले बताए।
वडा अध्यक्ष खड्काले विकास निर्माणका योजना छनोट तथा बजेट विनियोजन गर्दा स्थानीय आवश्यकता र जनताको मागलाई प्राथमिक आधार बनाइएको बताए। अनुदान तथा सहयोग रकम वास्तविक लाभग्राहीसम्म प्रत्यक्ष र पारदर्शी रूपमा पुर्याउने अभ्यास गरिएको उल्लेख गर्दै उनले आर्थिक अनियमितता हुन नदिन वडा कार्यालयले विशेष ध्यान दिएको बताए।
त्यस्तै, बाढीपहिरो तथा अन्य दैवी प्रकोपका बेला तत्काल राहत तथा पुनर्स्थापनाका लागि पालिकासँग समन्वय गरी आवश्यक खाद्यान्न तथा अन्य राहत सामग्री उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए। विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी वडा र पालिकाबीच समन्वय गरेर काम गरिने उनको भनाइ छ।




























