काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान तथा व्यवसायलाई व्यवस्थित, मर्यादित, पारदर्शी र श्रमिकमैत्री बनाउनुपर्ने मागसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
एसोसिएसनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाको नेतृत्वमा महासचिव सुमनराज पाण्डे सहितको टोलीले मन्त्रालयका सचिव डा. दीपक काफ्ले लाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो।
ध्यानाकर्षण पत्र बुझाउने टोलीमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङ, पूर्व महासचिव मेघनाथ भुर्तेल तथा व्यवसायीहरू रविन मेघाले, तारा रेग्मी, गीता राउत लगायतको सहभागिता रहेको थियो।
एसोसिएसनले पछिल्लो समय वैदेशिक रोजगार क्षेत्रमा देखिएका एसभीपी (SVP), मलेसिया रोजगारीमा सिन्डिकेट, सेवा शुल्क निर्धारण तथा यूएई रोजगारीमा लागू गरिएको VFS प्रणाली लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो।
एसोसिएसनले मलेसिया रोजगारीमा कुनै पनि प्रकारको एकाधिकार वा सिन्डिकेट स्वीकार्य नहुने स्पष्ट पारेको छ। केही स्वार्थी समूहले एकाधिकार कायम गराउन प्रयास गरिरहेको दाबी गर्दै त्यस्ता गतिविधिलाई पूर्ण रूपमा रोक्न सरकारसँग माग गरिएको छ।
सबै वैदेशिक रोजगार व्यवसायीलाई समान अवसर र प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुपर्ने भन्दै एसोसिएसनले मलेसिया रोजगारीमा सिन्डिकेटको सम्भावना अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने जनाएको छ।
एसोसिएसनले यूएई रोजगारीमा लागू गरिएको VFS प्रणाली तत्काल खारेज गर्नुपर्ने मागसमेत गरेको छ। उक्त प्रणालीका कारण श्रमिकको लागत शुल्क अत्यधिक बढेको दाबी गर्दै श्रमिकमाथि थप आर्थिक भार पार्ने व्यवस्था हटाउन आग्रह गरिएको हो।
छिमेकी मुलुक भारतले समेत छोटो समयमै VFS प्रणाली हटाएको उल्लेख गर्दै एसोसिएसनले नेपालमा पनि श्रमिकलाई अनावश्यक आर्थिक भार पर्ने व्यवस्था कायम राख्न नहुने जनाएको छ।
वैदेशिक रोजगार व्यवसायीले अन्य श्रम आपूर्ति गर्ने मुलुकसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले व्यवसायी र श्रमिक दुवैको हित हुने गरी न्यायोचित तथा व्यावहारिक सेवा शुल्क निर्धारण गर्न एसोसिएसनले माग गरेको छ।
अव्यावहारिक सेवा शुल्कका कारण व्यवसायीको प्रतिष्ठा र व्यवसाय सञ्चालनमा समस्या आउनुका साथै श्रमिकसमेत असुरक्षित हुने अवस्था सिर्जना हुन सक्ने भन्दै सरकारले वास्तविक लागत र अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई आधार बनाएर नयाँ मापदण्ड निर्धारण गर्नुपर्नेमा जोड दिइएको एसोसिएसनले गैरकानुनी रूपमा SVP सञ्चालन गर्ने संस्थामाथि सरकारले गरेको कारबाहीलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा समेत यस्ता गतिविधि हुन नदिन निरन्तर निगरानी र कडा कानुनी कारबाही गर्न माग गरेको छ।
वैदेशिक रोजगार क्षेत्रलाई शुद्धीकरण गर्दै सुशासन, पारदर्शिता र श्रमिकको सुरक्षा सुनिश्चित गर्न सरकार तथा व्यवसायीबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको एसोसिएसनले जनाएको छ।
एसोसिएसनले उठाएका मागप्रति मन्त्रालय गम्भीर भएर यथाशीघ्र ठोस पहल गर्ने अपेक्षा राखेको महासचिव सुमनराज पाण्डेले बताए।




























