काठमाडौं । नेपाल र ग्रीसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, काठमाडौं महानगरपालिका–१९ का वडाध्यक्ष राजेशकुमार श्रेष्ठ एवम् नेपाल–ग्रीस मैत्री संघका अध्यक्ष मनोज नेवा खड्गी, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल लगायत नेपाली प्रतिनिधिमण्डल ग्रीस प्रस्थान गरेको छ।
नेपाल–ग्रीस दैत्या सम्बन्धको २५औँ वर्षगाँठका अवसरमा ग्रीसमा हुने विशेष कार्यक्रममा, काठमाडौं महानगरपालिका र ग्रीसको सम्बन्धित नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना तथा सहकार्य अघि बढाउने विषयमा समेत कार्यक्रम आयोजना हुने जनाइएको छ। स्थानीय तहबीचको अनुभव आदानप्रदान, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखिने बताइएको छ।
प्रतिनिधिमण्डलको पर्यटन क्षेत्रतर्फको नेतृत्व जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले गरिरहेका छन्। बरालका अनुसार नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यले ग्रीसमा नेपालको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पर्यटनबारे जानकारी गराउने कार्यक्रमसमेत राखिएको छ।
नेपालका प्रमुख पर्यटकीय गन्तव्य, धार्मिक तथा ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यबारे ग्रीसका पर्यटन व्यवसायी तथा सरोकारवालालाई जानकारी गराउँदै नेपाल भ्रमणका लागि आकर्षित गर्ने उद्देश्य रहेको बरालले बताए।
उनका अनुसार ग्रीससँगै इटाली, फ्रान्स, जर्मनीलगायत युरोपेली मुलुकमा समेत नेपालको पर्यटन प्रवर्द्धनलाई विस्तार गर्ने सम्भावनाबारे छलफल गरिनेछ। नेपालका लागि युरोपेली पर्यटकको आगमन बढाउन पर्यटन व्यवसायी, स्थानीय तह तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
नेपाल–ग्रीस दैत्या सम्बन्धको २५औँ वर्षलाई पर्यटन, संस्कृति तथा स्थानीय तहबीचको सहकार्य विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्न प्रतिनिधिमण्डलले जोड दिने जनाइएको छ।



























