काठमाडौं । रुसी सेनामा नेपालीको भर्ना हुन जाने प्रवृत्तिलाई रोक्ने उपाय प्रतिवेदन तयार गर्न उपसचिव दीपक ढकालको नेतृत्वमा तीन सदस्यीय समिति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको छ ।
रुसी सेनामा नेपाली पठाउने कन्सल्ट्यान्सी, ट्राभल एजेन्सीको भूमिका पहिचान गर्ने र भिजिट भिसा वा अन्य प्रक्रियाबाट जानेलाई रोक्न प्रशासनिक उपाय पहिल्याउ समिति बनाइएको हो ।
रुसी सेनामा संलग्न भएका चार नेपाली मारिएको र ठूलो संख्यामा नेपाली युद्ध मैदानमा खटिएको समाचार सार्वजनिक भइरहेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बुधबार उपसचिव ढकालको नेतृत्वमा अध्ययन समिति बनाएका हुन् ।
अध्ययन समितिमा मन्त्रालयको वैदेशिक रोजगार महाशाखाका अधिकृत धनन्जय यादव र कानून अधिकृत उषा गौतम सदस्य रहेका छन् ।
गत सोमबार युक्रेन–रुस युद्धमा दोलखाका राजकुमार रोका, स्याङ्जाका प्रितम कार्की, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलियाको मृत्यु भएको रुसस्थित नेपाली दूतावासले सार्वजनिक गरेकोे थियो ।
रुसी सेनमा भर्ना हुन गएका तर भर्ना नभइ फर्केका नेपालीहरुले रुसी सेनामा ८ देखि १० हजार नेपाली हुनसक्ने आंकलन गरेका छन् ।


























