काठमाडौँ । नेपाल र साउदी अरबबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ । साउदी अरबको रियादमा सम्पन्न कार्यक्रममा श्रमिक भर्ना सम्बन्धी उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।
सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संसाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन् ।
एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि नेपाल र साउदीबीच श्रम सम्झौता भएको हो । नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो । पटक–पटक सम्झौताको मस्यौदा तयार भए पनि विभिन्न कारणले प्रक्रिया अघि बढ्न सकेको थिएन । गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति दिएको थियो । तर भदौ २३ र २४ गतेको जनआन्दोलनका कारण सरकार ढलेपछि सम्झौतामा हस्ताक्षर गर्न ढिलाइ भएको थियो ।
सम्झौतामा हस्ताक्षर हुनुअघि दुवै देशका श्रम मन्त्रीबीच द्विपक्षीय बैठकसमेत भएको थियो । सो अवसरमा मन्त्री भण्डारीले उक्त सम्झौताले नेपाल–साउदीबीचको श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए । उनले सम्झौताले नेपाली साधारण श्रमिकको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउने आधार तयार गर्ने बताए । साथै साउदी अरबमा कार्यरत नेपाली श्रमिकको हकहित संरक्षण र रोजगार सुरक्षामा सम्झौताले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरे ।
सम्झौतामा श्रमिकका सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयलाई प्राथमिकताका साथ समेटिएको छ । दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड तथा आपसी समझदारीका आधारमा श्रमिकको हित सुनिश्चित गर्ने व्यवस्था सम्झौतामा गरिएको छ ।
यस सम्झौताबाट साउदी अरबमा कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकको सेवा सुविधा, सुरक्षा र स्थायित्व थप मजबुत हुने विश्वास रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।
साउदी अरबमा न्यूनतम तलब नपाउने, करारपत्र फेरबदल गर्ने, कम्पनीले घर जान नदिने तथा उपचारमा लापरवाही गर्ने जस्ता समस्या लिएर श्रमिकहरूले दूतावास र वैदेशिक रोजगार विभागमा उजुरी गर्ने गरेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ लाख ५२ हजार ५५७ जनाले (पुनः श्रम स्वीकृति सहित) साउदीका लागि श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १ लाख ४१ हजार ५०२ जनाले श्रम स्वीकृति लिएर साउदी गएका थिए ।





























