काठमाडौं । वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा वैदेशिक रोजगार विभागले उक्त सेवा सुरु गरेको हो।
विभागका अनुसार विदेशिने कामदारलाई अन्तिम चरणमा आवश्यक सूचना, परामर्श तथा सहजीकरण उपलब्ध गराउने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको हो। विमानस्थलबाट दैनिक ठूलो संख्यामा कामदार विदेशिने क्रम जारी रहेकाले उनीहरूलाई ठगी, गलत सूचना र कागजी प्रक्रियामा हुने समस्या हुन नदिन यस्तो व्यवस्था गरिएको बताइएको छ।
हेल्प डेस्कमार्फत कामदारलाई श्रम स्वीकृति, करारपत्र, बीमा, ,फ्रि भिषा फ्रि टिकेट लागु भएनभएको र गन्तव्य देशसम्बन्धी जानकारी तथा आपतकालीन सम्पर्कबारे जानकारी दिइनेछ। साथै, शंकास्पद अवस्था वा समस्या परेमा तुरुन्तै सम्बन्धित निकायसँग समन्वय गरी समाधान खोज्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट दैनिक औसत १५ सयभन्दा बढी कामदार विभिन्न मुलुकतर्फ प्रस्थान गर्ने गरेका छन्। तीमध्ये ठूलो हिस्सा खाडी मुलुक र मलेसियातर्फ जाने गर्छन्। पछिल्लो समय वैदेशिक रोजगारीप्रति आकर्षण उच्च रहँदा कामदारको आवागमन पनि बढ्दो क्रममा छ।
विशेषज्ञहरूका अनुसार विमानस्थलमै सूचना तथा सहायता उपलब्ध हुँदा कामदारहरू थप सचेत बन्ने र ठगी तथा मानव बेचबिखनजस्ता जोखिम न्यून हुने अपेक्षा गरिएको छ। यसअघि पनि विभिन्न निकायले वैदेशिक रोजगारी सुरक्षित बनाउन तालिम, अभिमुखीकरण र निगरानीका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
मन्त्रालयले हेल्प डेस्कलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति र प्रविधिको व्यवस्था गरिने जनाएको छ। साथै, कामदारको गुनासो दर्ता र समाधान प्रक्रियालाई छिटो र सहज बनाउन डिजिटल प्रणालीसँग समेत जोड्ने तयारी गरिएको छ।



























