काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक पद पूर्तिका लागि आवेदन आह्वान गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ अनुसार प्राधिकरणको कार्य सञ्चालनका लागि कार्यकारी प्रमुखका रूपमा महानिर्देशक नियुक्त गर्न लागिएको जनाइएको छ। उक्त पदका लागि नेपाल सरकार वा प्राधिकरणको सेवामा कार्यरत तथा आवश्यक योग्यता पुगेका इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन्।
सूचना प्रकाशन भएको मितिले सात दिनभित्र मन्त्रालय, सिंहदरबार, काठमाडौंमा आवेदन पेश गर्न भनिएको छ। आवेदन फाराम, आवश्यक योग्यता, अनुभव, पेश गर्नुपर्ने कागजात, छनोट प्रक्रिया तथा पारिश्रमिक र सुविधासम्बन्धी विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।
मन्त्रालयले सम्बन्धित सबैलाई जानकारीका लागि सूचना प्रकाशित गरेको उल्लेख गरेको छ।



























