काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल लगायतका जोखिमयुक्त स्थानमा रहेका अनधिकृत सुकुम्बासी टहराहरू हटाउने अभियान अघि बढाइरहेको अवस्थामा निजी क्षेत्रबाट पनि सहकार्यको प्रस्ताव आएको छ।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले प्रभावित सुकुम्बासीहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न संघ तयार रहेको बताएका छन्। उनले यस विषयलाई मानवीय दृष्टिकोणले सम्बोधन गर्दै दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
बरालका अनुसार नदी किनार तथा जोखिमयुक्त स्थानमा बनेका अव्यवस्थित बस्तीहरूले लामो समयदेखि काठमाडौं उपत्यकाको सौन्दर्यमा कुरुप पार्दै आएको मा अब ती स्थानहरूलाई व्यवस्थित गर्दै पार्क, हरियाली क्षेत्र तथा सार्वजनिक खुला स्थानका रूपमा विकास गर्न सके काठमाडौंलाई अझ सफा, सुन्दर र पर्यटनमैत्री शहरका रूपमा अघि बढाउन सकिने अपेक्षा व्यक्त गरे।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंले सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणमैत्री, आतिथ्य (हस्पिटालिटी) क्षेत्रको प्रवर्द्धन, सचेतनामूलक कार्यक्रमहरू तथा विभिन्न सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै अध्यक्ष बरालले यस अभियानमा पनि संघ सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।
साथै सरकार, स्थानीय तह र निजी क्षेत्रबीच समन्वय प्रभावकारी भएमा जोखिमयुक्त बस्ती व्यवस्थापनसँगै काठमाडौंलाई सुरक्षित, व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बरालको भनाई छ।



























