काठमाडौं । पद्म ज्योति समूहअन्तर्गत स्याकर ट्रेडिङ कम्पनीले नेपालभर होन्डा सर्भिस सेन्टर विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको हो।
यसै क्रममा टेकुबाट स्थानान्तरण गरिएको त्रिपुरेश्वरस्थित सर्भिस सेन्टर र कान्तिपथको ज्योति भवनमा रहेको नयाँ सेन्टर औपचारिक रूपमा उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा होन्डा मोटर कम्पनीका उपाध्यक्ष तथा एसिया–ओसेनिया क्षेत्रीय प्रमुख तोशियो कुवाहारा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा स्याकर ट्रेडिङका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिको समेत उपस्थिति रहेको थियो।
कम्पनीले “उही मूल्यमा प्रिमियम सेवा” अवधारणा अघि सारेको छ। यसअन्तर्गत ग्राहकले हालकै शुल्कमा उच्चस्तरीय सेवा पाउने कम्पनीको दाबी छ। ग्राहकको सहजता, छिटो सेवा र गुणस्तरलाई प्राथमिकतामा राख्दै सेवा प्रक्रियालाई अझ प्रभावकारी बनाइने जनाइएको छ।
नयाँ सर्भिस सेन्टरहरूमा दक्ष प्राविधिकद्वारा सेवा प्रदान गरिनेछ भने शो–रुम, सर्भिस र जिन्युन पार्ट्स एउटै स्थानमा उपलब्ध हुने ‘थ्री–एस’ सुविधा पनि रहनेछ। ग्राहकका लागि आरामदायी प्रतीक्षालयसहित चिसो पेय पदार्थ र कफीको व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ।
आगामी दिनमा सञ्चालनमा आउने सर्भिस सेन्टरहरूमा आधुनिक डायग्नोस्टिक उपकरण र डिजिटल सेवा ट्र्याकिङ प्रणाली जडान गरिनेछ। छिटो सेवा दिन ‘फास्ट सर्भिस बे’को व्यवस्था गरिने तथा जिन्युन होन्डा पार्ट्सको सुनिश्चितता गरिने बताइएको छ।
स्याकर ट्रेडिङले यस विस्तार योजनामार्फत नेपालभरका ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ। कम्पनीका अनुसार आगामी दिनमा थप सर्भिस सेन्टर विस्तार गर्ने जनाएको छ ।



























