काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ भित्रको आन्तरिक विवादले नयाँ मोड लिएको छ। संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ सहित बहुमत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले सामूहिक राजीनामा दिँदै नयाँ निर्वाचनको माग अघि सारेका छन्।
राजीनामा दिनेहरूमा तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिम्दोङ, कोषाध्यक्ष धनमाया सिंजाली तथा सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरी रहेका छन्। उनीहरूले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
राजीनामा दिने समूहले अध्यक्ष भुवनसिंह गुरुङ को कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै संस्थागत प्रणाली कमजोर बनाइएको आरोप लगाएका छन्। उनीहरूका अनुसार संघभित्र निर्णय प्रक्रिया पारदर्शी, समावेशी र सामूहिक हुनुपर्नेमा व्यक्तिगत ढंगले सञ्चालन गरिएको छ।
त्यसैगरी, सरकारी निकाय, व्यवसायी तथा सरोकारवालासँग आवश्यक समन्वय हुन नसकेको र वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हकहित संरक्षणमा अपेक्षित ध्यान नदिइएको आरोप पनि लगाइएको छ।
महासचिव बस्नेतले वर्तमान परिस्थितिमा संघको विधानअनुसार प्रभावकारी रूपमा काम गर्न कठिन भएको निष्कर्ष निकाल्दै नयाँ जनादेशमार्फत नेतृत्व चयन आवश्यक भएको बताए। “संस्थागत एकता र कार्यक्षमता कायम राख्न अब नयाँ नेतृत्व अपरिहार्य छ,” उनले भने।
राजीनामा दिने पक्षले बहुमत पदाधिकारी तथा सदस्यहरूको बहिर्गमनसँगै कार्यसमिति अल्पमतमा परेको दाबी गर्दै तत्काल कार्यसमिति विघटन गरी नयाँ निर्वाचन प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायत सम्बन्धित निकायसमक्ष औपचारिक आग्रह गरेको छ।
संघको विधानअनुसार बहुमत सदस्यले पदत्याग गरेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने प्रावधान रहेको छ। पछिल्लो घटनाक्रमले संघभित्रको आन्तरिक विवादलाई थप तीव्र बनाउनुका साथै वैदेशिक रोजगार क्षेत्रको नेतृत्वमा समेत प्रभाव पार्ने देखिएको छ।



























