काठमाडौं । वैदेशिक रोजगार विभागले ठगी नियन्त्रणका लागि सूचना जारी गर्दै विदेश जाने नेपालीलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्रै भुक्तानी गर्न आग्रह गरेको छ।
विभागका अनुसार इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीलाई कानुन बमोजीम बुझाउने सेवा शुल्क वापतको रकम नगदमा कारोबार नगर्न भनिएको छ। आर्थिक कारोबारलाई पारदर्शी बनाउन र ठगी नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको जनाइएको छ। बैंकमार्फत गरिएको भुक्तानीको प्रमाण, कागजात तथा अनलाइन कारोबार विवरण सुरक्षित राख्न पनि विभागले आग्रह गरेको छ।
नगद कारोबार गर्दा ठगी भएमा प्रमाण जुटाउन कठिन हुने भएकाले कुनै पनि संस्था, तिनका सञ्चालक, कर्मचारी वा प्रतिनिधिसँग वैदेशिक रोजगारीसम्बन्धी रकम नगदमा लेनदेन नगर्न स्पष्ट निर्देशन दिइएको छ।
यस्तै, म्यानपावर कम्पनीहरूलाई पनि नगद कारोबार पूर्ण रूपमा रोक्न भनिएको छ। निर्देशन उल्लंघन गर्ने जो–कोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने सूचनामा उल्लेख छ।



























