काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। उम्मेदवारी दर्ताको समय आज दिउँसोसम्म तोकिएको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न समूहबीच प्यानल निर्माण र उम्मेदवार टुंग्याउने गृहकार्य तीव्र बनेको छ।
यसपटक नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूह चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन्।
स्वतन्त्र व्यवसायी समूहले भने उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिसकेको छ । यस समूहले नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीलाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ भने प्रथम उपाध्यक्षमा सञ्जु गुरुङ, महासचिवमा नूर मोहम्मद मियाँ, सचिवमा नवराज लुईंटेल र कोषाध्यक्षमा विनिता कटुवाललाई तथा सदस्य पदमा शिवशंकर यादवको नाम घोषणा गरिएको छ भने अन्य उम्मेदवारहरू पनि सार्वजनिक गर्ने भनेको छ ।
उम्मेदवार घोषणा सभासँगै स्वतन्त्र समूहले व्यवसायीहरूको हकहित संरक्षण तथा वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि पाँच बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गर्दे यो समूहले हाल प्रचलित सेवा शुल्क व्यवस्थालाई परिमार्जन गर्न पहल गर्ने व्यवसायी, श्रमिक र राज्य सबैलाई लाभ पुग्ने गरी वैज्ञानिक सेवा शुल्कको अवधारणा अघि सार्दै मागपत्र प्रमाणीकरण तथा अन्तिम श्रम स्वीकृति प्रक्रियालाई छिटो, सरल र व्यवस्थित बनाउने, अन्तर्राष्ट्रिय श्रम बजार प्रवर्द्धन गर्दै नयाँ गन्तव्य मुलुकहरूको खोजी गर्ने, वैदेशिक रोजगार क्षेत्रमा रहेका सबै प्रकारका सिन्डिकेट अन्त्य गरी स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने तथा मर्यादित व्यवसाय, सुरक्षित श्रमिक, जवाफदेही सरकार र उत्तरदायी रोजगारदाताको अवधारणालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यो समूहले पारदर्शिता, जवाफदेहिता र श्रमिक–व्यवसायीमैत्री नीतिमार्फत वैदेशिक रोजगार क्षेत्रको सुधार गर्ने प्रतिबद्दता ब्यक्त गर्दै चुनावमा होमीएको छ ।
एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री ( कुमार ) को नेतृत्वमा प्यानल चुनावी मैदानमा उतार्ने तयारी गरेको छ। मञ्चले अन्य पदका उम्मेदवारसमेत टुंग्याउने अन्तिम चरणमा पुगेको जनाएको छ ।
कांग्रेसनिकट लोकतान्त्रिक एसोसिएसन भित्र भने अध्यक्ष पदका लागि प्रतिस्पर्धा चर्किएको छ। निवर्तमान द्वितीय उपाध्यक्ष देव खोखाली, पूर्वमहासचिव मेघनाथ भुर्तेल र पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले अध्यक्ष पदमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन। यस समूहभित्र उम्मेदवार छनोटका लागि निरन्तर छलफल भइरहेको स्रोतले जनाएको छ ।
एसोसिएसनले पूर्वसचिव कर्णराज कटुवाललाई महासचिव र कार्यवाहक महासचिव तुलसी पुरीलाई द्वितीय उपाध्यक्षको उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ। यद्यपि, हरि डाँगीले महासचिव पदमा र केदारनाथ अधिकारी ( दीपेन्द्र ) ले सचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
संघको कार्यसमितिका अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि जेठ २४ गते निर्वाचन हुँदैछ । निर्वाचनमा सहभागिता जनाउन ८ सयभन्दा बढी व्यवसायीले सदस्यता शुल्क तथा लेबी बुझाइसकेका छन्। व्यवसायीहरूले आगामी निर्वाचनलाई संघको नयाँ नेतृत्व चयनसँगै वैदेशिक रोजगार क्षेत्रको भावी दिशा तय गर्न सक्ने सक्षम नेतृत्व छनोट गर्ने अवसरका रूपमा समेत लिएका छन् ।



























