काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। संघको विशेष साधारणसभाअन्तर्गत हुने निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले मेघनाथ भुर्तेलको नेतृत्वमा आफ्नो प्यानल चुनावी मैदानमा उतारेको छ।
संघका पूर्वमहासचिवसमेत रहेका भुर्तेलले वैदेशिक रोजगार क्षेत्रको सुधार, व्यवसायी तथा श्रमिकको हित संरक्षण र संस्थागत सुदृढीकरणलाई प्रमुख एजेन्डा बनाउँदै अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उनले वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी, व्यवस्थित र व्यवसायीमैत्री बनाउने प्रतिबद्धतासहित १० बुँदे एजेन्डा सार्वजनिक गरेका छन्।
भुर्तेल नेतृत्वको प्यानलमा प्रथम उपाध्यक्षमा कर्णराज कटुवाल, द्वितीय उपाध्यक्षमा रविन मेगाले मगर, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा अमर तिवारी, सचिवमा राज काजी भ्लोन (राज ) तथा कोषाध्यक्षमा विद्यारत्न बज्राचार्य उम्मेदवार रहेका छन्।
त्यसैगरी सदस्य पदमा राजेश मैनाली, कैलाश पाठक, देउबहादुर गौतम (सविन), टंकप्रसाद पंगेनी, गीता राउत, भीममाया कार्की, दीक्षा थपलिया, रोशना निरौला, दीपककुमार देव र हिरालाल गौडेल उम्मेदवार बनेका छन्।
भुर्तेलले सार्वजनिक गरेको एजेन्डामा श्रमिक र व्यवसायी दुवै पक्षको हित सुनिश्चित हुने स्पष्ट नीतिगत व्यवस्था निर्माण, वैदेशिक रोजगार क्षेत्रको वास्तविक लागतका आधारमा सेवा शुल्क निर्धारणका लागि सरकार र सरोकारवाला निकायसँग समन्वय तथा व्यवसायीमैत्री वातावरण निर्माणका विषय समेटिएका छन्।
त्यस्तै, सरकार, व्यवसायी र श्रमिक प्रतिनिधिबीच नियमित संवाद संयन्त्र स्थापना गरी साझा समस्याको साझा समाधान खोज्ने, त्रिपक्षीय सहकार्यलाई संस्थागत गर्ने तथा वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
संघको कार्यसमितिका अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनमा सहभागी हुन ८ सयभन्दा बढी व्यवसायीले सदस्यता शुल्क तथा लेबी बुझाइसकेका छन्। व्यवसायीहरूले यस निर्वाचनलाई संघको नयाँ नेतृत्व चयनसँगै वैदेशिक रोजगार क्षेत्रको भावी दिशा तय गर्ने सक्षम नेतृत्व छनोटको अवसरका रूपमा समेत हेरिरहेका छन्।



























