काठमाडौं । आज देशभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। प्रत्येक वर्ष असार १५ गते धान रोपाइँको मुख्य समयको अवसर पारेर यो दिवस मनाउने परम्परा रहँदै आएको छ।
कृषिप्रधान देश नेपालमा धान खेती अर्थतन्त्र, खाद्य सुरक्षा, संस्कृति तथा किसानको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। धान नेपालीहरूको प्रमुख खाद्यान्न बाली भएकाले यसको उत्पादन र संरक्षणलाई विशेष महत्व दिइन्छ। राष्ट्रिय धान दिवसले धान खेतीको महत्व उजागर गर्नुका साथै कृषिप्रति सम्मान र किसानको योगदानको कदर गर्ने उद्देश्य बोकेको छ।
असार १५ लाई किसानहरूको विशेष पर्वका रूपमा पनि लिइन्छ। देशका विभिन्न स्थानमा किसानहरू परम्परागत शैलीमा धान रोपाइँ गर्दै हिलो खेल्ने, रोपाइँ गीत गाउने र सामूहिक रूपमा उत्सव मनाउने चलन छ।
यसै अवसरमा दही–चिउरा खाने परम्परा पनि विशेष रूपमा मनाइन्छ। नेपाली संस्कृतिमा दहीलाई शुभको प्रतीक मानिन्छ। शुभकार्यमा घरबाट निस्कँदा, यात्रा वा वैदेशिक रोजगारीका लागि प्रस्थान गर्दा समेत दही खाने प्रचलन रहेको छ।
स्वास्थ्यका दृष्टिले पनि दही पौष्टिक तथा पाचनका लागि लाभदायक मानिन्छ। त्यसैले असार १५ मा दही–चिउरा खाने परम्पराले सांस्कृतिक महत्वसँगै स्वास्थ्य सन्देश पनि बोकेको विश्वास गरिन्छ।
राष्ट्रिय धान दिवस तथा दही–चिउरा पर्वले कृषि, संस्कृति र नेपाली जीवनशैलीबीचको गहिरो सम्बन्धलाई झल्काउँदै किसानको सम्मान र कृषि उत्पादन वृद्धिको सन्देश दिने अपेक्षा गरिएको छ।



























