काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) मा सञ्चालन हुने द यूएई लटरी मार्फत ३० मिलियन दिराम (करिब १ अर्ब २३ करोड रुपैयाँ) बराबरको पुरस्कार जितेका पाँच नेपालीले उक्त रकम वैधानिक रूपमा नेपाल भित्र्याएर लगानी गर्ने घोषणा गरेका छन्।
युएईमा कार्यरत गोर्खाका तैयव खान, पाल्पाका सन्दीप विक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रुपन्देहीका सुदीप न्यौपानेले बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावास पुगेर नेपाली राजदूत तेजबहादुर क्षेत्रीसँग सामूहिक भेट गरेका हुन्।
भेटका क्रममा उनीहरूले लटरीमार्फत प्राप्त रकम कानुनी प्रक्रियाअनुसार नेपाल पठाई देशभित्र विभिन्न उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न चाहेको बताएका थिए। त्यसका लागि आवश्यक कानुनी प्रक्रिया, बैंकिङ सहजीकरण तथा सरकारी समन्वयका लागि राजदूतावासको सहयोग आवश्यक रहेको उनीहरूको भनाइ थियो।
उनीहरूले विदेशमा आर्जित ठूलो रकमलाई नेपालमै परिचालन गरी आर्थिक विकास, उद्यमशीलता र रोजगारी विस्तारमा योगदान पुर्याउने उद्देश्य रहेको बताएका थिए।
राजदूत तेजबहादुर क्षेत्रीले विजेता नेपालीहरूलाई बधाई दिँदै लगानीका सम्भावित क्षेत्रहरूको अध्ययन गरेर दीर्घकालीन प्रतिफल दिने परियोजनामा लगानी गर्न सुझाव दिए। उनले पुरस्कार रकम वैधानिक रूपमा नेपाल भित्र्याउन आवश्यक समन्वय र सहजीकरणका लागि नेपाली राजदूतावासबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
उनले विदेशमा सफलता हासिल गरेका नेपालीहरूले स्वदेशमा लगानी बढाए त्यसले राष्ट्रिय अर्थतन्त्र, उत्पादन र रोजगारीमा सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गरे।
भेटघाटमा प्रभु बैंकका युएई प्रतिनिधि प्रकाश पौडेल, पत्रकार उमाकान्त पाण्डे तथा नेपाल वैदेशिब रोजगार संघका सचिव एवम नेपाल उद्योग ब्यापार महासंघका सचिव केदारनाथ अधिकारीको समेत सहभागि थिए ।
युएईमा कार्यरत नेपालीले एकैपटक ३० मिलियन दिराम बराबरको लटरी जित्नु नेपाली समुदायका लागि दुर्लभ उपलब्धि मानिएको छ। विजेताहरूले उक्त रकम वैधानिक रूपमा नेपाल भित्र्याई लगानी गर्ने प्रतिबद्धता जनाएपछि विदेशमा आर्जित पुँजीलाई स्वदेशको आर्थिक विकासमा उपयोग गर्ने उदाहरणका रूपमा यसलाई हेरिएको छ।




























