उद्बब बिश्वकर्मा
काठमाडौं, साउन १८ — अनुभवी पर्वतारोही दावा टासी शेर्पाले नेपालको पर्वतारोहण क्षेत्रमा शेर्पा समुदायले विश्वस्तरमा अतुलनीय योगदान पुर्याए पनि उनीहरूको भूमिका अझै उचित रूपमा सम्मान र प्रचारप्रसार हुन नसकेको बताएका छन्।
उनले विश्वका अग्ला हिमालहरूमा नेपाली शेर्पाहरूले दशकौँदेखि साहस, सीप र अनुभवका साथ काम गर्दै अन्तर्राष्ट्रिय पर्वतारोहणलाई सफल बनाइरहेको उल्लेख गर्दै उनीहरूको योगदान धेरैजसो “गाइड” को परिचयमा मात्र सीमित रहेको बताए।
दावा टासी शेर्पाले विशेष रूपमा दोलखा गौरीशंकर गाउँपालिका–९ का किलिपेम्बा शेर्पाको योगदानलाई पनि स्मरण गर्दै उनले १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल र १५ पटक सगरमाथा आरोहण गरेर नेपालको पर्वतारोहण क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरे पनि नेपाली मिडियाले उनको योगदानलाई पर्याप्त कदर नगरेकोप्रति दुःख व्यक्त गरे। उनका अनुसार यस्ता कीर्तिमानी आरोहीहरूको उपलब्धिलाई राज्य, सञ्चारमाध्यम र सम्बन्धित निकायले राष्ट्रिय गौरवका रूपमा स्थापित गर्न आवश्यक छ।
उनले हालै दिवंगत पर्वतारोही किली पेम्बा शेर्पाको उदाहरण दिँदै विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेपछि पनि उहाँले प्राप्त गर्नुपर्ने सम्मान र चर्चा पर्याप्त हुन नसकेको उल्लेख गरे। यस्ता व्यक्तित्वहरूको योगदान इतिहासमा सुरक्षित राख्न र नयाँ पुस्तासामु चिनाउन विशेष पहल आवश्यक रहेको उनको भनाइ छ।
दावा टासी शेर्पाले शेर्पा समुदायले केवल हिमाल चढाउने सहयोगीको भूमिका मात्र नभई नेपालको पर्यटन, पर्वतारोहण र अन्तर्राष्ट्रिय प्रतिष्ठा उकास्न महत्वपूर्ण योगदान दिएको बताए। उनले नेपाल सरकार, पर्यटनसँग सम्बन्धित निकाय र सञ्चारमाध्यमलाई शेर्पा समुदायका कीर्तिमानी आरोहीहरूको योगदानलाई प्राथमिकताका साथ उजागर गर्न आग्रह गरे।
“हिमालमा नेपाली शेर्पाको पसिना, साहस र कहिलेकाहीँ जीवनसमेत समर्पित हुन्छ। त्यसैले उनीहरूको योगदानलाई गुमनाम होइन, राष्ट्रिय गौरवका रूपमा सम्मान गरिनुपर्छ,” उनले भने।



























