काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारको छनोट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र कानुनसम्मत बनाउन इजाजतपत्रवालालाई नयाँ निर्देशन जारी गरेको छ। विभागले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ मा भएका व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गर्दै विज्ञापन प्रकाशित भएको सात दिन नपुग्दै कामदार छनोट नगर्न स्पष्ट निर्देशन दिएको हो।
विभागले जारी गरेको सूचनामा वैदेशिक रोजगार ऐनको दफा १६ अनुसार इजाजतपत्रवालाले कामदार पठाउन स्वीकृति प्राप्त गरेपछि छनोटका लागि कम्तीमा सात दिनको समय दिई राष्ट्रियस्तरको दैनिक पत्रिका तथा आफ्नै वेबसाइटमा विज्ञापन प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ।
त्यस्तै, ऐनको दफा १७ र वैदेशिक रोजगार नियमावलीको नियम १५ तथा १६ अनुसार विज्ञापनका आधारमा प्राप्त निवेदनमध्ये योग्यता, अनुभव तथा तोकिएका मापदण्डका आधारमा मात्रै कामदार छनोट गर्नुपर्ने व्यवस्था रहेको विभागले उल्लेख गरेको छ। छनोट भएका व्यक्तिहरूको नामावली कार्यालयको सूचना पाटीमा टाँस गरी विभागमा समेत जानकारी गराउनुपर्ने कानुनी दायित्व रहेको सूचनामा जनाइएको छ।
विभागका अनुसार पछिल्लो समय धेरै इजाजतपत्रवाला संस्थाले सात दिनको समय उल्लेख गरेर विज्ञापन प्रकाशित गरे पनि सो अवधिभित्रै “कोटा सकिएको” भन्दै आवेदन दिन आएका इच्छुक व्यक्तिलाई फर्काउने तथा छनोट प्रक्रियाबाट वञ्चित गर्ने गुनासो बढ्दै गएको छ।
यस्ता गुनासो बढेपछि विभागले अबदेखि सात दिनको अवधि पूरा नहुँदासम्म सबै इच्छुक आवेदकको निवेदन अनिवार्य रूपमा लिन, सात दिनपछि मात्र एकमुष्ट सूची तयार गरी छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
त्यसैगरी, छनोटमा परेका आवेदकहरूको सूची सम्बन्धित इजाजतपत्रवाला संस्थाको वेबसाइटमा सार्वजनिक गर्न तथा छनोट हुन नसकेका आवेदकलाई छनोट हुन नसक्नुको कारणसमेत जानकारी गराउन विभागले निर्देशन दिएको छ।
विभागले वैदेशिक रोजगारीका लागि कामदार छनोट प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धी र विश्वासयोग्य बनाउन कानुनी व्यवस्था कडाइका साथ पालना गर्न सबै इजाजतपत्रवाला संस्थालाई आग्रह गरेको छ।




























