काठमाडौं, । वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार क्षेत्रले नेपालको अर्थतन्त्र, रोजगारी र सामाजिक विकासमा पुर्याएको योगदानको उचित मूल्याङ्कन गर्दै समयानुकूल नीतिगत सुधार गर्न सरकारसँग माग गरेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डिक बहादुर खत्री (कुमार ) ले वैदेशिक रोजगार क्षेत्रले विगत पाँच दशकदेखि लाखौँ नेपालीलाई रोजगारी उपलब्ध गराउनुका साथै देशमा रेमिट्यान्स भित्र्याएर विदेशी मुद्रा सञ्चिति वृद्धि, व्यापार घाटा न्यूनीकरण तथा आर्थिक स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। नेपाली श्रमिकमार्फत अन्तर्राष्ट्रिय सीप, कार्यसंस्कृति, प्रविधि र पुँजीको हस्तान्तरणसमेत भइरहेको उनको भनाइ छ।
यति ठूलो योगदानका बाबजुद नीतिगत जटिलता, अव्यावहारिक व्यवस्था तथा समयानुकूल सुधारको अभावले वैदेशिक रोजगार क्षेत्र संकटमा परेको व्यवसायीहरूको गुनासो छ। उनीहरूले नीतिगत सुधारबिनाको अवस्था श्रमिक, व्यवसायी र समग्र राष्ट्रकै हितविपरीत हुने बताएका छन्।
पत्रकार सम्मेलनमार्फत व्यवसायीहरूले सरकारसमक्ष विभिन्न १५ बुदे मागहरू अघि सारेका छन्। सरकारद्वारा विभिन्न मितिमा वैदेशिक रोजगार संस्थामाथि गरिएका कारबाही पुनरावलोकन गरी आवश्यक निर्णय गर्नुपर्ने, श्रमिकबाट लिइने सेवा शुल्कलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने तथा वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि हालको शुल्क संरचना पुनर्समीक्षा गर्नुपर्ने उनीहरूको माग छ।
व्यवसायीहरूले विदेशी रोजगारदातासँग मागपत्र ल्याउने, अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने, श्रमिक छनोट तथा व्यवस्थापनलगायतका सम्पूर्ण प्रक्रिया सञ्चालन गर्दा ठूलो आर्थिक भार व्यहोर्नुपरेको उल्लेख गर्दै हालको शुल्क प्रणाली पर्याप्त नभएको बताए। अन्तर्राष्ट्रिय अभ्यासअनुसार श्रमिकले प्राप्त गर्ने एक महिनाको तलब बराबरको सेवा शुल्क निर्धारण गर्न सरकारसँग उनीहरूले माग गरेका छन्।
त्यसैगरी वैदेशिक रोजगारमा जाने श्रमिकका लागि हवाई भाडा सस्तो बनाउन, टिकट शुल्कमा रहेको अतिरिक्त आर्थिक भार कम गर्न तथा श्रमिकमैत्री हवाई नीति लागू गर्नुपर्ने माग पनि व्यवसायीहरूले अघि सारे। नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोग गर्दै थप अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सरकारको ध्यान जानुपर्ने उनीहरूको भनाइ छ।
पत्रकार सम्मेलनमा भारतको बागडोग्राबाट खाडी मुलुक जाने हवाई टिकटको मूल्य र काठमाडौंबाट सोही गन्तव्यमा जाने टिकटको मूल्यबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै नेपाली श्रमिकले अनावश्यक रूपमा महँगो टिकट खरिद गर्न बाध्य भएको व्यवसायीहरूले बताएका छन्। यस विषयमा सरकार र सम्बन्धित निकायले तत्काल हस्तक्षेप गरी श्रमिकको आर्थिक भार घटाउन आवश्यक पहल गर्नुपर्ने उनीहरूको माग रहेको छ।
व्यवसायीहरूले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, पारदर्शी, सम्मानित र दीगो बनाउन सरकार, नीति निर्माता, सञ्चारमाध्यम तथा सरोकारवाला सबै पक्षले गम्भीरतापूर्वक नीतिगत सुधारमा पहल गर्नुपर्नेमा जोड दिएका छन्।




























