काठमाडौं । गौरीशंकर गाउँपालिकाले गाउँपालिकाभित्रका माध्यमिक विद्यालयमा शैक्षिक सुधार तथा विद्यालय, अभिभावक र जनप्रतिनिधिबीचको सम्बन्ध मजबुत बनाउने उद्देश्यले विशेष कार्यक्रम सुरु गरेको छ।गाउँपालिकाका आठवटै वडाका माध्यमिक विद्यालयमा क्रमशः सञ्चालन हुने कार्यक्रम शुक्रबार देखि सुरु भएको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए।
कार्यक्रम एघार गतेसम्म सञ्चालन हुने उनले बताए।
अध्यक्ष कार्कीका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुका साथै अभिभावक, विद्यालय र जनप्रतिनिधिबीचको सम्बन्धलाई थप मजबुत बनाउनु हो।
“कार्यक्रम क्रमशः गौरीशंकर गाउँपालिकाका आठ वटा वडाका माध्यमिक विद्यालयमा सञ्चालन हुँदैछ। यसको मुख्य उद्देश्य शैक्षिक सुधारसँगै अभिभावक, विद्यालय र जनप्रतिनिधिबीचको सम्बन्ध मजबुत बनाउनु हो,” अध्यक्ष कार्कीले भने।
विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय जनप्रतिनिधिबीच नियमित समन्वय र संवाद आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। कार्यक्रममार्फत विद्यालयमा देखिएका शैक्षिक चुनौती पहिचान गर्दै सुधारका लागि आवश्यक पहल गरिने अपेक्षा गरिएको छ।
गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा अभिभावकको सहभागिता बढाउने योजनाअनुसार कार्यक्रम सञ्चालन गरेको जनाएको छ।कार्यक्रम सम्पन्न भएपछि प्राप्त सुझाव तथा अनुभवका आधारमा आगामी दिनमा शिक्षा सुधारका थप कार्यक्रम अघि बढाउने गाउँपालिकाको तयारी रहेको छ।



























