काठमाडौं । मलेसियाको वैदेशिक रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई मात्रै अवसर दिने गरी अघि बढाइएको भनिएको व्यवस्थाप्रति वैदेशिक रोजगार व्यवसायी किरण सिग्देल ढकालले कडा आपत्ति जनाएकी छन्। उनको वैदेशिक रोजगार क्षेत्रमा कुनै पनि प्रकारको सिन्डिकेट, एकाधिकार वा सीमित व्यवसायीको नियन्त्रण स्वीकार्य नहुने तर्क छ।
युरो एसिया एचआर सोलुसन प्रालिका सञ्चालक ढकालले विगतमा ‘जिरो कस्ट’को विषयमा व्यवसायीहरू आन्दोलनमा उत्रिएको स्मरण गर्दै अहिले पनि व्यवसायीको हकहित र समान अवसरका लागि आवश्यक परे सशक्त रूपमा प्रतिकार गर्ने चेतावनी दिएकी छन्।
‘जिरो कस्ट लागू हुँदा हामी आन्दोलनमा उत्रिएका थियौं। त्यो बेला पनि व्यवसायीको अधिकार र व्यावसायिक अस्तित्वका लागि आवाज उठाएका थियौं। अहिले सिन्डिकेटको कुरा आएको छ, यसको पनि सशक्त प्रतिकार गर्छौं,’ ढकालले भनीन्।
उनका अनुसार वैदेशिक रोजगार व्यवसायमा राज्यले सबै व्यवसायीलाई समान अवसर प्रदान गर्नुपर्छ। निश्चित व्यक्ति वा सीमित कम्पनीलाई मात्रै रोजगारीको स्रोतमा पहुँच दिने व्यवस्था भए त्यसले व्यवसायमा एकाधिकारलाई प्रोत्साहन गर्ने उनको भनाइ छ।
‘कुनै निश्चित समूह वा केही कम्पनीलाई मात्रै अवसर दिएर अरू व्यवसायीलाई बाहिर राख्ने नीति हामीलाई स्वीकार्य हुँदैन। वैदेशिक रोजगार व्यवसाय सबैका लागि समान हुनुपर्छ। प्रतिस्पर्धा गर्ने अधिकार सबै व्यवसायीलाई हुनुपर्छ।
ढकालले नेपाल सरकार र सम्बन्धित देशबीच भएका श्रम सम्झौता तथा समझदारीको आधारमा , स्थापित कानुनी प्रक्रियाभन्दा बाहिर गएर सीमित व्यवसायीलाई मात्र लाभ पुग्ने व्यवस्था गरिए त्यसले व्यवसायी मात्र नभई नेपाली श्रमिकलाई समेत असर पार्न सक्ने उनको भनाइ छ।
‘सरकारले वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्छ। व्यवसायीबीच विभेद हुने कुनै पनि व्यवस्था स्वीकार्नु हुँदैन। सबैलाई समान अवसर दिएर स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउनुपर्छ ।
मलेसियाको रोजगारीमा देखिएको पछिल्लो विवादलाई तत्कालका लागि मात्र नभई दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा जोड दिईन । व्यवसायीबीच विभाजन सिर्जना गर्ने वा सीमित समूहको प्रभाव बढाउने कुनै पनि प्रयास सफल हुन नदिने उनको भनाइ छ।
‘‘हामी व्यवसायीको अधिकार खोसिन दिँदैनौं। जिरो कस्टको विषयमा जसरी आवाज उठाएका थियौं, अहिले पनि आवश्यक परे संगठित भएर सशक्त रूपमा अघि बढ्छौं। सिन्डिकेट वा एकाधिकार कुनै पनि हालतमा स्वीकार्य छैन,’ ढकालले स्पष्ट रूपमा बताइन्।



























