काठमाडौं । नेपाली कांग्रेसलाई विभाजनबाट जोगाउन एकताको दबाबमूलक सन्देश प्रवाह गर्नु आफूजस्ता निःस्वार्थ शुभचिन्तकको नैतिक दायित्व भएको बताउँदै महासमिति सदस्य दामोदर कार्कीले नेपाली कांग्रेसको संस्थापन र इतर पक्ष दुवैको अधिवेशनमा सहभागी नहुने अठोट व्यक्त गरेका छन्।
कार्कीले कांग्रेस केवल एउटा राजनीतिक दल नभई नेपालको लोकतान्त्रिक आन्दोलनको लामो इतिहास, बीपी कोइरालाको विचार, सुवर्णशमशेरको साहस, गणेशमान सिंहको त्याग तथा हजारौँ अग्रज नेता–कार्यकर्ताको रगत, पसिना र बलिदानबाट निर्माण भएको संस्था भएको उल्लेख गरेका छन्।
उनले पार्टीभित्र देखिएको ‘नियमित’ र ‘विशेष’ महाधिवेशनको टकरावलाई सामान्य आन्तरिक विवादका रूपमा मात्र लिन नहुने बताएका छन्। यस्तो अवस्थाले पार्टीको संगठनात्मक एकता, भविष्य र पुस्तौँदेखि जोगिँदै आएको कांग्रेसको पहिचानमा समेत असर पार्न सक्ने उनको भनाइ छ।
कार्कीले गाउँको टोलदेखि वडा, पालिका, जिल्ला हुँदै केन्द्रसम्म पार्टी निर्माणमा जीवनको महत्वपूर्ण समय खर्चिएका हजारौँ नेता–कार्यकर्ता अहिले अन्योल र पीडामा रहेको बताएका छन्।
निर्वाचनका बेला घर–परिवारको चासोसमेत नगरी पार्टीको झण्डा बोकेर जनताको घरदैलोमा पुग्ने, उम्मेदवारलाई जिताउन समय, श्रम र स्रोत खर्च गर्ने कार्यकर्ता नै अहिले ‘कुन कांग्रेसको महाधिवेशनमा जाने?’ भन्ने प्रश्नमा परेको उनले उल्लेख गरेका छन्।
उनले नेतृत्वले कार्यकर्ताको मनमा उठेको यही प्रश्नलाई गम्भीरतापूर्वक सुन्नुपर्ने बताएका छन्।
कार्कीले कांग्रेसभित्रको विवाद समाधान गर्न नेतृत्वले व्यक्तिगत प्रतिष्ठा, पद र गुटगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिएका छन्।
उनले नियमित र विशेष दुवै महाधिवेशनलाई केही समयका लागि रोक्दै सबै पक्षका विश्वासिला नेता–कार्यकर्ता सम्मिलित सर्वपक्षीय संयोजन समिति बनाएर सदस्यता, प्रतिनिधित्व, विधान तथा महाधिवेशन प्रक्रियासँग जोडिएका विवाद समाधान गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
त्यसपछि सबै पक्षलाई स्वीकार्य हुने एउटै मिति र प्रक्रियाबाट एकताको महाधिवेशन गर्नुपर्ने उनको आग्रह छ।
“मैले दुवै महाधिवेशनमा सहभागी नहुने अठोट गरेको छु। यो निर्णय कसैलाई हराउनका लागि होइन, कांग्रेसलाई हार्न नदिनका लागि हो,” कार्कीले भनेका छन्।
उनले महासमिति सदस्य तथा तल्लो तहका जिम्मेवार नेता–कार्यकर्ताले समेत नेतृत्वलाई प्रश्न गर्नुपर्ने बताएका छन्।
“हामीहरूले तपाईंहरूलाई पदका लागि भोट दिएका हौँ कि पार्टी बचाउन पद दिएका हौँ?” भन्ने प्रश्न नेतृत्वसमक्ष राख्नुपर्ने उनको भनाइ छ।
कार्कीले आगामी स्थानीय निर्वाचनलाई समेत ध्यानमा राखेर पार्टीभित्रको विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन्। स्थानीय निर्वाचनमा केन्द्रका नेताहरूको शक्ति प्रदर्शनभन्दा गाउँको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, खानेपानीलगायत जनताका प्रत्यक्ष मुद्दा महत्वपूर्ण हुने उनको भनाइ छ।
यदि कांग्रेस दुई भागमा विभाजित भएर निर्वाचनमा जाने अवस्था बनेमा एउटै गाउँमा कांग्रेसका दुई समूह एकअर्काविरुद्ध उभिन सक्ने भन्दै उनले त्यसले तल्लो तहका कार्यकर्ता र पार्टीका उम्मेदवारलाई थप अप्ठ्यारो पार्ने बताएका छन्।
“बीपीको विचार बोकेको पार्टी आफ्नै घरभित्र मिल्न नसक्दा देश र समाजलाई कसरी एकताको सन्देश दिने?” कार्कीको प्रश्न छ।
कार्कीले कांग्रेस निर्माणमा अग्रजहरूले गरेको त्यागलाई स्मरण गर्दै अहिलेको पुस्ताले पनि पार्टी जोगाउन त्याग गर्नुपर्ने बताएका छन्।
“इतिहासले भोलि हामीलाई सोध्नेछ—कांग्रेस फुट्न लागेको बेला तिमी कहाँ थियौ? हामीसँग गर्वका साथ भन्न सक्ने उत्तर हुनुपर्छ—हामी कुनै गुटमा थिएनौँ, हामी कांग्रेसको पक्षमा थियौँ,” उनले भनेका छन्।
उनले कांग्रेसका आस्थावान र निष्ठावान सबै समूहका अग्रज नेताहरूलाई जतिसक्दो छिटो निष्कर्षसहित वार्ताको टेबलमा बस्न आग्रह गरेका छन्।
कार्कीले दुवै पक्षबीच संवादमार्फत विवाद समाधान गरी एकताको महाधिवेशनको तिथि–मिति तत्काल तय गर्न विशेष अनुरोध गरेका छन्।
“दुई महाधिवेशन होइन, एउटै कांग्रेसको महाधिवेशन गरौँ। व्यक्तिगत प्रतिष्ठाभन्दा पार्टीको प्रतिष्ठा ठूलो बनाऔँ। गुटगत जितभन्दा कांग्रेसको जित ठूलो बनाऔँ,” कार्कीले अपिल गरेका छन्।
उनले कांग्रेसको एकताले पार्टीका नेता–कार्यकर्तालाई एउटै झण्डामुनि पुनः उभिने वातावरण बनाउने विश्वास व्यक्त गर्दै बीपी कोइरालाको विचार, सुवर्णशमशेरको साहस र गणेशमान सिंहको त्यागबाट बनेको कांग्रेसलाई आफ्नो पुस्ताले फुटको उपहार नभई एकता, अनुशासन, विचार र नयाँ ऊर्जासहितको कांग्रेस हस्तान्तरण गर्नुपर्ने बताएका छन्।
“कांग्रेस फुट्यो भने कुनै गुट जित्दैन—कांग्रेस हार्छ। कांग्रेस एक भयो भने कुनै व्यक्ति मात्र जित्दैन—सिंगो कांग्रेस जित्छ। र कांग्रेस जित्दा लोकतन्त्रको शक्ति जित्छ,” कार्कीको भनाइ छ।



























