काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य तारा थपलियाले पार्टीभित्रको एकता कायम गर्दै एकताको महाधिवेशनमार्फत आम जनसमुदायलाई सकारात्मक सन्देश दिनुपर्ने बताएकी छन्।
थपलियाले नेपाली कांग्रेसको मर्म र भावनालाई जीवित राख्न पार्टी फुटेर नभई जुटेर अघि बढ्नु आजको आवश्यकता रहेको बताइन्।
उनले पछिल्लो राजनीतिक परिस्थितिमा नयाँ राजनीतिक दलहरू राष्ट्रिय शक्तिका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै लोकतन्त्रको संरक्षण र विधिको शासन कायम गर्न कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखिन्।
“नेपाली कांग्रेसको मर्म र भावनालाई जीवित राख्न फुटेर होइन, जुटेर जानु आजको आवश्यकता हो,” उनले भनिन्।
थपलियाले पार्टीभित्र देखिएका मतभेदलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिइन्।
आवश्यक परे केही दिन समय थप गरेर भए पनि एकताको महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।
“लोकतन्त्र जोगाउन र देशमा विधिको शासन कायम गर्न केही दिन समय थपेर भए पनि एकताको महाधिवेशन गर्नुपर्छ। यसले आम जनसमुदायमा सकारात्मक सन्देश प्रवाह गर्छ,” थपलियाले भनिन्।
उनले नेपाली कांग्रेस लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण शक्ति भएकाले पार्टीको आन्तरिक एकता मजबुत बनाउँदै वर्तमान राजनीतिक चुनौतीको सामना गर्नुपर्ने बताइन्।



























