काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल–अन्सारीबीच द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको छ। भेटमा कतारमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षा तथा नेपाल–कतारबीचको श्रम सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
भेटवार्तामा मन्त्री यादवले नेपाली श्रमिकको सीप विकास, सीपअनुसारको रोजगारी तथा पारदर्शी र श्रमिकमैत्री भर्ती प्रक्रियाका लागि नेपाल र कतारबीचको सहकार्यलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए।
उनले नेपाली श्रमिकले कतारको श्रम बजारमा हासिल गरेको योगदानलाई ध्यानमा राख्दै उनीहरूको अधिकार, सुरक्षा र कल्याणका विषयमा निरन्तर सहकार्य आवश्यक रहेको बताए। साथै, श्रमिकलाई आवश्यक सीप र तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन तथा सीपअनुसारको रोजगारीको अवसर सिर्जना गर्न दुवै देशबीच समन्वय बढाउनुपर्नेमा उनले जोड दिए।
मन्त्री यादवले हालै नेपालले भोगेको विपद्का क्रममा कतार सरकारले गरेको सहयोगप्रति आभारसमेत व्यक्त गरे। विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका क्रममा रोजगारी सिर्जना, सीप विकास, तालिम तथा प्रभावित युवालाई श्रम बजारसँग जोड्ने कार्यक्रमका लागि कतार सरकारको थप सहयोग आवश्यक रहेको भन्दै उनले सहकार्यका लागि आग्रह गरे।
भेटमा नेपाल–कतारबीच विद्यमान द्विपक्षीय श्रम समझदारीलाई समयानुकूल र व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो। सीप विकास, व्यावसायिक तालिम तथा दक्ष जनशक्ति उत्पादनका क्षेत्रमा आपसी सहकार्य र समन्वय विस्तार गर्ने विषयमा दुवै पक्षबीच कुराकानी भएको जनाइएको छ।
नेपाल र कतारबीच लामो समयदेखि श्रम क्षेत्रमा सहकार्य हुँदै आएको सन्दर्भमा नेपाली श्रमिकको हित संरक्षणसँगै सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीका लागि द्विपक्षीय संयन्त्रलाई थप प्रभावकारी बनाउने विषयलाई भेटवार्तामा प्राथमिकता दिइएको थियो।



























