काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र आधारभूत आवश्यकताका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।
घले दम्पतीको नेतृत्वमा रहेको एमआईटी ग्रुप फाउन्डेसनले बाढी प्रभावित १८ वर्षमुनिका बालबालिकालाई कक्षा १२ सम्म अध्ययन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
यससम्बन्धी समझदारीपत्र (एमओयू) मा एमआईटी ग्रुप फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्बीच शुक्रबार महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा हस्ताक्षर भएको छ।
समझदारीअनुसार प्रभावित बालबालिकाको अवस्थाका आधारमा शिक्षा, खाना, आवास, कपडा तथा स्वास्थ्य उपचारलगायत आधारभूत आवश्यकताका लागि सहयोग उपलब्ध गराइनेछ।
बाढीको पानी घट्दैमा बालबालिकाको समस्या समाप्त नहुने भन्दै घलेले उनीहरूको भविष्यमा समेत दीर्घकालीन साथ आवश्यक रहेको बताएका छन्। बाढीका कारण बालबालिकाको शिक्षा र जीवनमा परेको असरलाई मध्यनजर गर्दै उनीहरूलाई निरन्तर सहयोग गर्ने उद्देश्य रहेको उनको भनाइ छ।
घलेले कठिन परिस्थितिमा प्रभावित बालबालिकालाई सहयोग गर्न पाउनुका साथै आगामी वर्षहरूमा पनि उनीहरूको साथमा रहन पाउनु महत्त्वपूर्ण भएको बताएका छन्। बालबालिकाले आफ्नो शिक्षा निरन्तरता दिन सकून्, आधारभूत आवश्यकता पूरा होस् र भविष्यप्रति आशावादी बन्न सकून् भन्ने उद्देश्यले सहयोग गर्न लागिएको उनले बताएका छन्।
अष्ट्रेलियामा बसोबास गर्दै आएका घले दम्पतीले नेपालमा होटलसहित विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्।



























