काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान २०७२ औपचारिक कानुनी दस्तावेज मात्र नभई जनताको अधिकार र ऐतिहासिक राजनीतिक उपलब्धि संस्थागत गर्ने युगान्तकारी दस्तावेज भएको बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले संविधान दशकौँ लामो जनसंघर्ष, जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताएका हुन्।
‘नेपालको संविधान २०७२ कुनै एउटा औपचारिक कानुनी दस्तावेज मात्रै होइन, यो युगान्तकारी परिवर्तनलाई संस्थागत गर्ने ऐतिहासिक सङ्कल्प र दस्तावेज हो,’ प्रचण्डले भनेका छन्।
उनका अनुसार संविधानले पहिलोपटक नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ। संविधान निर्माणका क्रममा भएका न्यायपूर्ण आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रचण्डले संविधानबाट प्राप्त राजनीतिक उपलब्धिलाई जनताको दैनिक जीवनसँग जोड्नु अहिलेको मुख्य दायित्व भएको बताएका छन्। राजनीतिक परिवर्तनलाई आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
संविधानका अक्षरमा मात्र सीमित नभई यसको मर्म र भावना जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले बाँकी संवैधानिक कार्यभार पूरा गर्न सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन्।



























