काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन् ।
त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको हो । आगलागीमा २५ वर्षीय चालक दावा लामा जलेर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागी हुँदा बसमा यात्रु थिएनन् । चालक मात्रै बसमा रहेका बेला अचानक आगो लागेको थियो । आगलागीको कारण भने तत्काल खुलेको छैन ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ताका अनुसार प्रारम्भिक अनुसन्धानमा चालक आफैंले बसमा आगो लगाएको हुन सक्ने आशंका गरिएको छ । तर उनले किन आगो लगाए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान तथा तथ्य संकलन भइरहेको प्रहरीले जनाएको छ ।
त्रिपुरेश्वर क्षेत्रमा यसअघि पनि यस्तै प्रकृतिको घटना भएको थियो । असार २५ गते मुगुको सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि शरीरमा आगो लगाएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।



























