काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आकृति अवस्थीले चाडपर्व तथा विपद्का समयमा आन्तरिक हवाई भाडा अस्वाभाविक रूपमा बढ्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अवस्थीले सडक तथा यातायातका अन्य माध्यम अवरुद्ध भएका बेला नागरिकको बाध्यतालाई आधार बनाएर हवाई भाडा बढाउने प्रवृत्तिमाथि प्रश्न उठाइन् ।
‘नेपालको आन्तरिक उडानमा यहाँहरूलाई हार्दिक स्वागत छ। कृपया सिटको पेटी बाँध्नुहोला, किनकि जहाजभन्दा छिटो हवाई भाडा माथि उडिरहेको छ,’ उनले व्यंग्य गर्दै भनिन् ।
उनले आन्तरिक हवाई भाडा सर्वसाधारणको पहुँचभन्दा बाहिर पुगेको बताइन् । ‘विमानमा दुई ढोका अगाडि र दुई पछाडि छन्, तर महँगो भाडाबाट उम्किने आपत्कालीन ढोका छैन,’ उनले भनिन्, ‘आपत्कालमा अक्सिजन मास्क आफैं झर्छ, तर बाढी, पहिरो र चाडपर्वमा टिकटको भाडा सुन्दा मास्क झर्नुअघि नै चाहिन सक्छ ।’
दसैंका बेला हवाई भाडा बढ्ने र बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा झन् महँगो हुने अवस्थाप्रति उनले प्रश्न उठाइन् । एयरलाइन्सहरूले यसलाई ‘डिमान्ड एन्ड सप्लाई’ को नियमका रूपमा व्याख्या गरे पनि नागरिकका लागि यो बाध्यताको मूल्य भएको उनको भनाइ थियो ।
‘नागरिकको दुःख र बाध्यतालाई देखेर भाडा बढाउने अधिकार एयरलाइन्स कम्पनीहरूलाई कसले दियो ?’ उनले प्रश्न गरिन् ।
विपद् र चाडपर्वका बेला आफ्नै देशका दुर्गम क्षेत्र पुग्नसमेत कठिन हुने अवस्था रहेको उल्लेख गर्दै अवस्थीले भनिन्, ‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो । दिल्लीभन्दा सुदूरपश्चिमलाई नजिक बनाइदिनुस् ।’
उनले एयरलाइन्स कम्पनीहरूलाई नागरिकको बाध्यताबाट नाफा नकमाउन आग्रह गरिन् । ‘जहाज उडाउनुस्, भाडा होइन । नाफा कमाउनुस्, नागरिकको बाध्यता होइन,’ उनले भनिन् ।
सांसद अवस्थीले दुर्गम तथा सुदूरपश्चिम क्षेत्रका नागरिकले चाडपर्वमा सहज रूपमा घर फर्किन सक्ने वातावरण बनाउन हवाई सेवा र भाडा व्यवस्थापनमा सरकारले प्रभावकारी पहल गर्नुपर्ने बताइन् ।



























