माबिलुङ्ग इनर्जी लिमिटेडले आज, साउन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बाँडफाँट गरिसकेको छ।
कम्पनीले जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँ बराबरको १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्कासन गर्न लागेको हो।
यसमा कम्पनीका कर्मचारीहरूका लागि ३० हजार ९५ कित्ता र सामूहिक लगानी कोषका लागि ७५ हजार २३६ कित्ता शेयर छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले भने बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। यो आइपीओमा ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिन्छ। लक्ष्मी सनराइज क्यापिटल लिमिटेड यसको शेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ।
इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ सिंगल बी प्लस’ रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। इच्छुक लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाबाट सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।



























