काठमाडौं । वैदेशिक रोजगारीमा दक्षिण अफ्रिका पठाइदिने भन्दै लाखौं ठगि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीका लागि दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको उजुरीका आधारमा प्रहरीले झापा बिर्तामोड घर भइ हाल काठमाडौं बस्ने अन्जेश गिरीलाई पक्राउ गरेको हो ।
बिजय खत्रीसहित २ जनालाई वैदेशिक रोजगारीमा दक्षिण अफ्रिका पठाइदिन्छु र त्यसको लागि प्रतिव्यक्ति आठ लाख पचास हजार रुपैयाँ लाग्ने र दक्षिण अफ्रिका पुगेपछि १ लाख २० हजार तलब हुने भनेर विश्वास दिलाइ १७ लाख गिरीले लिएका थिए ।
गिरीलाई सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
त्यस्तै, नविन खड्कालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ८ लाख ठगी गर्ने बर्दिया मधुवन घर भइ हाल ललितपुर बस्ने अभिषेक श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले नविन खड्कालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ३५ लाख लाग्ने भनेर आठ लाख ठगेको प्रहरीले जनाएको छ।
थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको बताएको छ



























