दक्षिण कोरियाको रोजगारीका लागि पानी जहाज निर्माण क्षेत्रमा सहभागी भएका र उत्पादनमुलक क्षेत्रका लागि पनि आवेदन दिएकाहरूले भाषा परीक्षामा सहभागी हुन पाउने भएका छन्। उनीहरूले समेत ईपीएस भाषा परीक्षा दिन पाउने गरी जनवरी २० बाट परीक्षा सञ्चालन गर्ने तालिका तयार भएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।
घिमिरेका अनुसार उत्पादनमुलक क्षेत्रको रोजगारीका लागि जान करिव १ लाख ६४ हजार जनाले आवेदन दिएका छन्। उनीहरूलाई तीन चरणमा भाषा परीक्षामा सहभागी गराइने भएको छ। पहिलो चरणमा ४७ हजारले परीक्षा दिन पाउने भएका छन्। दोस्रो चरणमा ८० हजारलाई सहभागी गराइने र बाँकीलाई तेस्रो चरणको भाषा परीक्षामा सहभागी गराइने भएको छ।
पहिलो चरणमा परीक्षा दिइसकेकाहरूको नतिजा सार्वजनिक भएपछि दोस्रो चरणको परीक्षा सञ्चालन हुनेछ। त्यसपछि मात्रै अन्तिम चरणको परीक्षा हुनेछ। यसअघि पानी जहाज निर्माण क्षेत्रको परीक्षामा सहभागी भएकाहरुलाई उत्पादनमुलक क्षेत्रमा पनि सहभागी गराउन उच्च अदालत पाटनले आदेश दिएको थियो।
तर ईपीएस प्रणालिमा एक क्षेत्रको परीक्षामा सहभागी भएकाहरुले अर्को क्षेत्रको परीक्षामा त्यही वर्ष सहभागी हुन नपाउने व्यवस्था छ। त्यही व्यवस्थाका कारण कोरियाले पानी जहाज निर्माण क्षेत्रमा सहभागी भइसकेकालाई उत्पादनमुलक क्षेत्रको परीक्षामा सहभागी गराउने नगराउने अन्यौल थियो।



























