काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को संयुक्त सहकार्यमा प्रवासमा रहेका नेपाली श्रमिकलाई लक्षित गर्दै भर्चुअल मानसिक स्वास्थ्य परामर्श कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रमको उद्देश्य वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई मानसिक स्वास्थ्यसम्बन्धी सहयोग, परामर्श तथा सचेतना प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।
प्रवासको कठिन जीवनशैली, कामको दबाब, एक्लोपन तथा पारिवारिक दूरीका कारण मानसिक तनावमा परिरहेका श्रमिकलाई सहयोग पुर्याउने लक्ष्यसहित उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा मानसिक स्वास्थ्यका विज्ञद्वारा परामर्श दिइनुका साथै सहभागीका जिज्ञासाको समाधानसमेत गरिने जनाइएको छ।
कार्यक्रम आगामी जनवरी २३, २०२६ (शुक्रबार) नेपाली समयअनुसार साँझ ५ बजे भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ। संसारका विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकले सहज रूपमा सहभागिता जनाउन सक्ने गरी अनलाइन माध्यम प्रयोग गरिएको एनआरएनएले जनाएको छ।
आयोजकका अनुसार मानसिक स्वास्थ्यलाई लिएर अझै पनि समाजमा रहेको संकोच हटाउने, समस्या पहिचान गर्न सहयोग गर्ने र आवश्यक परेमा उचित उपचार तथा परामर्शतर्फ मार्गदर्शन गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो। प्रवासमा रहेका नेपाली श्रमिकलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आयोजक संस्थाले आह्वान गरेको छ।



























