काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान (एनसीपीए) को आयोजनामा “कपडा दान” कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा क्लथ एण्ड फुड बैंक नेपाल तथा लायन्स क्लब अफ काठमाडौं क्लिओप्याट्राले सहकार्य गरेका थिए।
संस्थाकी महिला सचिव बेनिश पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा करिब ४०० केजी नयाँ तथा प्रयोगयोग्य पुराना कपडा वितरण गरिएको जनाइएको छ।
कार्यक्रममा क्लथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जीसीले कलाकारिता क्षेत्रबाट भएको यो पहिलो संस्थागत सहकार्य भएकाले आफू उत्साहित रहेको बताए।
त्यसैगरी, प्रस्तोता समाज नेपालका अध्यक्ष नरहरी प्रेमी, सर्जक बैकुण्ठ महत, प्राध्यापक ऋषीराम शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
संस्थाका अध्यक्ष नारायणबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष थापाले विभिन्न सामाजिक कार्यक्रममार्फत संस्थालाई अझ सक्रिय, गतिशील र जिम्मेवार बनाउँदै अगाडि बढाइने बताए।
प्रतिष्ठानले यसअघि पनि स्रष्टा सम्मान, ललितकलाका विभिन्न क्षेत्रमा सक्रिय स्रष्टाका हकअधिकार संरक्षण, विकृति–विसंगति न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
अनामनगरस्थित संस्थाको कार्यालयमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सनम कठायतले गरेका थिए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दीपक शर्मा, सचिव रिता केसी, कोषाध्यक्ष प्रतिक्षा काफ्ले, कार्यसमिति सदस्यहरू वीरेन्द्र भाट ‘विपिन’, विनोद बम, पूजा ठकुरी, प्रमोद डिजी, प्रज्वलराज भट्ट, कोपिला शिवाकोटी, रानु निरौला, लायन माला खत्रीलगायतको उपस्थिति रहेको थियो।



























