काठमाडौं । वैदेशिक रोजगार विभागले ललितपुरको जावलाखेलस्थित वैदेशिक रोजगार व्यवसायी संस्था नुन रिसोर्सेज प्रालि बाट अनुगमनका क्रममा बरामद गरिएको ७ लाख ९० हजार रुपैयाँ सम्बन्धमा रकम बुझाएका व्यक्तिलाई प्रमाणसहित विभागमा निवेदन दिन आग्रह गरेको छ ।
विभागले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार वैदेशिक रोजगार ऐन, नियमावली तथा अनुगमन टोली परिचालन कार्यविधि, २०७६ बमोजिम विभागको अनुगमन टोलीले गत वैशाख २५ गते उक्त संस्थामा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा संस्थाबाट नगद ७ लाख ९० हजार रुपैयाँ बरामद गरिएको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा उक्त रकम वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सेवाग्राहीबाट असुल गरिएको हुन सक्ने आशंका छ ।
विभागले वैशाख २५ गते नुन रिसोर्सेज प्रालिमा रकम बुझाएका व्यक्तिलाई प्रमाणसहित ७ दिनभित्र रकम बुझाएको रसिद, भौचर वा अन्य प्रमाण आफूसँग भए सो प्रमाणसहित वैदेशिक रोजगार विभागमा उपस्थित भई निवेदन दिन सक्ने सुचनामा उल्लेख छ ।



























