काठमाडौं । सरकारले विभिन्न मुलुकका लागि रिक्त रहेका राजदूत पदमा आवेदन आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले विहिबार सूचना जारी गर्दै योग्य तथा इच्छुक नेपाली नागरिकलाई आवेदन दिन तथा उपयुक्त व्यक्तिको नाम सिफारिस गर्न आग्रह गरेको हो ।
मन्त्रालयका अनुसार नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धनका लागि राजदूत पदमा खुला रूपमा आवेदन तथा सिफारिस माग गरेको हो । इच्छुक उम्मेदवारले स्वयम् दरखास्त दिन सक्नेछन् भने अन्य व्यक्ति वा संस्थाले समेत योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने मन्त्रालयले जनाएको छ ।
राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अनुसार तयार गरिएको कार्यशर्त (टीओआर) बमोजिम आवश्यक योग्यता पुगेका उम्मेदवारहरू आवेदन वा सिफारिसका लागि योग्य हुने जनाइएको छ ।
मन्त्रालयले आवेदन दिने उम्मेदवारले आफ्नो विस्तृत व्यक्तिगत विवरण (सीभीरबायोडाटा) लगायत आवश्यक कागजातहरू मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत पेश गर्नुपर्ने जनाएको छ । आवश्यक परे इमेलमार्फत पनि सम्पर्क गर्न सकिने व्यवस्था गरिएको सुचनामा उल्लेख छ ।
दरखास्त तथा सिफारिस बुझाउने अन्तिम मिति २०८३ जेठ २२ गते (५ जुन २०२६) अपराह्न ५ बजेसम्म तोकिएको छ । तोकिएको म्याद नाघी आएका वा प्रक्रिया नपुगेका आवेदनलाई छनोट प्रक्रियामा समावेश नगरिने मन्त्रालयले स्पष्ट पारेको छ ।
प्राप्त आवेदन तथा सिफारिसहरूको प्रारम्भिक मूल्यांकनपछि योग्यता र उपयुक्तताका आधारमा सर्टलिस्ट तयार गरिने तथा छनोटमा परेका उम्मेदवारलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिने मन्त्रालयले जनाएको छ ।



























