काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूको हक–हित, नीतिगत सुधार तथा सरकारसँगको संवादलाई प्रभावकारी बनाउने प्रयास भइरहेका बेला वैदेशिक रोजगार व्यवसायीहरूमाथि नै निशाना बनाउने षड्यन्त्र भएको आरोप सार्वजनिक सँगै व्यवसायीहरूबीच अनावश्यक विवाद सिर्जना गर्दै संस्थागत एकता कमजोर पार्ने प्रयास भइरहेको दाबी गरिएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङ ले व्यवसायी हितमा भइरहेका पहललाई कमजोर पार्ने उद्देश्यले केही समूह सक्रिय रहेको आरोप लगाएका छन् । उनका अनुसार मन्त्रालयसँग भइरहेको निरन्तर संवाद, नीतिगत सुधारका प्रयास तथा श्रमिक प्रक्रिया सहज बनाउने पहललाई प्रभावित पार्ने गरी व्यवसायीहरूमाथि लक्षित गतिविधि भइरहेको छ । “यो हुनु दुःखद छ,” उनले भने ।
अध्यक्ष गुरुङले वैदेशिक रोजगार क्षेत्र अहिले संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै संरचनागत समस्या, प्रशासनिक जटिलता, अन्तर्राष्ट्रिय श्रम बजारको प्रतिस्पर्धा तथा नीतिगत अन्योलबीच व्यवसायीहरूको एकता अत्यावश्यक भएको बताएका छन् । उनका अनुसार यस्तो अवस्थामा संस्था भित्र फाटो ल्याउने प्रयास व्यवसायी हितविपरीत हो ।
उनले सरकारसँग भइरहेको संवादलाई सकारात्मक निष्कर्षमा पुर्याउन साझा धारणा आवश्यक रहेको उल्लेख गर्दै आगामी वार्ता व्यवसायी हितका लागि महत्वपूर्ण अवसर भएको बताएका छन् । विशेषगरी “फ्री भिसा, फ्री टिकट” नीतिको व्यवहारिक समस्या, मागपत्र प्रमाणीकरण, भिसा प्रक्रिया, श्रमिक लागत तथा प्रशासनिक झन्झटजस्ता विषयमा गम्भीर छलफल भइरहेको उनले बताए ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयबाट व्यवसायीहरूको नियमित कार्य सञ्चालनमा कुनै अवरोध नगर्न भन्दै जारी गरिएको पत्रलाई संघले सकारात्मक रूपमा लिएको छ । संघका अनुसार उक्त निर्देशनले व्यवसायीहरूको कामकारबाही निरन्तर अघि बढाउनुपर्ने स्पष्ट संकेत दिएको भए पनि केही समूहले त्यसलाई तोडमोड गरेर गलत व्याख्या गर्ने प्रयास गरेको आरोप छ ।
अध्यक्ष गुरुङले प्रशासनिक पत्रको गलत व्याख्या गर्दै संघको वैधानिक नेतृत्वमाथि अनावश्यक विवाद सिर्जना गर्ने कार्य गैरजिम्मेवार रहेको बताएका छन् । उनले संघ कुनै व्यक्तिको निजी संस्था नभई सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरूको साझा संस्था भएको उल्लेख गर्दै अफवाह र उत्तेजनाको पछि नलाग्न सबै व्यवसायीलाई आग्रह गरेका छन् ।
उनका अनुसार केही असहमति जनाएका तथा राजीनामा दिएका सदस्यहरूलाई समेत समेटेर एकताबद्ध रूपमा अघि बढ्ने प्रयास भइरहेको छ । यस्तो अवस्थामा व्यक्तिगत स्वार्थ, निर्वाचनको हार–जितको मनोविज्ञान वा आन्तरिक राजनीतिक स्वार्थका कारण संस्था कमजोर पार्ने गतिविधि स्वीकार्य नहुने उनले स्पष्ट पारेका छन् ।
अध्यक्ष गुरुङले व्यक्तिगत कठिन परिस्थितिका बीच पनि व्यवसायीहरूको हितका लागि निरन्तर सक्रिय रहेको उल्लेख गर्दै यस्तो संवेदनशील समयमा व्यवसायीहरूमाथि नै लक्षित गतिविधि हुनु दुःखद भएको बताएका छन् ।
केहि ब्यवसायीहरुका अनुसार पूर्व अध्यक्षहरू तथा वरिष्ठ व्यवसायीहरूले समेत वर्तमान अवस्थामा एकता र सहकार्यको आवश्यकता रहेको बताएका छन् । उनीहरूले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, सम्मानित र व्यवस्थित बनाउन सरकारसँग मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
व्यवसायीहरूको भनाइमा अहिलेको आवश्यकता आन्तरिक विवाद होइन, नीतिगत सुधार र सरकारसँगको प्रभावकारी संवाद हो । यही कारण संघले सबै वैदेशिक रोजगार व्यवसायीहरूलाई एकताबद्ध भएर साझा हितका लागि अघि बढ्न पुनः आग्रह गरेको छन् ।



























