काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ पूर्व सचिव कर्णराज कटुवाल ले हवाई टिकटमा भएको अस्वाभाविक मूल्यवृद्धि तथा भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई रोक लगाउने निर्णयमा ट्राभल एजेन्सी र केही सरकारी प्रतिनिधिबीच ठूलो चलखेल भएको आरोप लगाएका छन्।
एक अन्तर्वार्ताका क्रममा उनले एउटै गन्तव्यका लागि भारतबाट ३०–३५ हजार रुपैयाँमा टिकट उपलब्ध हुने तर नेपालबाट ६०–७० हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहनु गम्भीर विषय भएको बताए। यस विषयमा निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न उनले सरकारसँग माग गरे।
कटुवालले विगतमा आवश्यक प्रक्रिया पूरा गरेर भारतबाट उडान गर्न सकिने व्यवस्था हुँदा श्रमिकको खर्च कम हुने गरेको उल्लेख गर्दै अहिलेको व्यवस्थाले श्रमिकमाथि अनावश्यक आर्थिक भार थपिएको दाबी गरे। उनले टिकट मूल्यमा भएको अस्वाभाविक अन्तर र नीतिगत निर्णयहरूको स्वतन्त्र छानबिन गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरे।
साथै, वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, पारदर्शी र श्रमिक तथा व्यवसायी दुवैको हितअनुकूल बनाउन सरकारले सबै सरोकारवालासँग समन्वय गरी आवश्यक सुधार गर्नुपर्ने उनको भनाइ छ।



























