काठमाडौं, साउन १८ — २४औँ बोत्ले स्मृति दिवसको सन्दर्भमा आयोजित विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोलखा जिल्ला इन्चार्ज विशाल खड्काले जनयुद्धका क्रममा ज्यान गुमाएका सहिदहरूको योगदानको उच्च सम्मान गर्दै उनीहरूको सपना पूरा गर्न जनमुखी शासन व्यवस्था सुदृढ बनाउनुपर्ने बताएका छन्।
उनले आजभन्दा २४ वर्षअघि आजकै दिन दोलखाको शैलुङ गाउँपालिका–स्थित बोत्लेमा तत्कालीन शाही नेपाली सेना र तत्कालीन माओवादी पक्षबीच भएको दोहोरो भिडन्तमा माओवादी पक्षका १५ जना योद्धाले सहादत प्राप्त गरेको स्मरण गरे।
ती सहिदहरूको बलिदान नेपाली राजनीतिक परिवर्तनको महत्वपूर्ण अध्याय भएको उल्लेख गर्दै उनले सहिदहरूको सपना सामाजिक न्याय, समानता, सुशासन र समृद्ध नेपालको निर्माणमार्फत मात्रै पूरा हुने बताए।
खड्काले गणतन्त्र जनताको लामो संघर्ष, त्याग र बलिदानको उपलब्धि भएकाले यसलाई थप सुदृढ, जनउत्तरदायी र प्रभावकारी बनाउन सबै राजनीतिक शक्ति र नागरिक एकजुट हुनुपर्नेमा जोड दिए।
उनले इतिहासबाट शिक्षा लिएर वर्तमानका चुनौतीको सामना गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय एकता र जनविश्वासलाई मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा सहभागी वक्ताहरूले पनि बोत्ले घटनामा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानलाई राष्ट्रले सधैँ सम्मान गर्नुपर्ने बताएका थिए।



























