काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ ‘युक्ता’को शव बिहीबार साँझ नेपाल ल्याइएको छ।
गत साउन १४ गते भएको हिमपहिरोमा नि’धन भएका गुरुङको शव कतार एअरवेजमार्फत काठमाडौं ल्याइएको हो। उद्धार तथा समन्वयका लागि पाकिस्तान पुगेका कीर्तिमानी आरोही निर्मल पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा शवसहित नेपाल फर्किएका हुन्।
नेपाल पर्वतारोहण संघका अनुसार, पुरबहादुर गुरुङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा राखिनेछ। त्यसपछि शुक्रबार बिहान ९ बजे स्वयम्भूमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
गोरखाको लाप्राक स्थायी घर भएका गुरुङ नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष तथा मनाङ माउन्टेनियरिङ स्कुल समितिका सदस्य थिए। पर्वतारोहण क्षेत्रमा उनको योगदानलाई सम्झँदै विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त भइरहेको छ।ब्रड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पासहित ६ नेपाली तथा अन्य विदेशी आरोही गरी १० जनाको दुःखद नि’धन भएको थियो।निर्मल पुर्जाको परिवार बेलायतमा रहेकाले उनको अन्त्येष्टि त्यहीँ गर्ने तयारी भइरहेको छ भने अन्य नेपाली पर्वतारोहीहरूको शव आवश्यक प्रक्रिया पूरा भएपछि क्रमशः नेपाल ल्याइने जनाइएको छ।



























