काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको नयाँ नेतृत्व चयन भएको छ। भीम मल्ल ठकुरी सर्वसम्मतरूपमा अध्यक्षमा चयन भएका छन्।
कार्यसमितिमा महासचिवमा कुमार श्रेष्ठ, उपाध्यक्षमा रुद्र थापा र सुरिन भुजेल, सचिवमा केशव खड्का र सविन तामाङ, कोषाध्यक्षमा नवराज ढुंगाना, सह–कोषाध्यक्षमा अलिना श्रेष्ठ तथा सदस्यमा विजय श्रेष्ठ चयन भएका छन्।
अबुधाबीमा सम्पन्न अधिवेशनमा एनआरएनए आईसीसीका उपाध्यक्ष मनोज गोर्खाली, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना, मध्यपूर्व संयोजक रमेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
सन् २००३ मा स्थापना भएको एनआरएनए विश्वभर छरिएका नेपालीहरूको साझा संस्था मानिन्छ। विशेषगरी यूएईजस्ता श्रम–प्रधान मुलुकमा नेपाली श्रमिकको संरक्षण, कानुनी सहायता, स्वास्थ्य सहयोग, आपतकालीन उद्धार तथा सांस्कृतिक पहिचान जोगाउने क्षेत्रमा संस्थाको भूमिका महत्वपूर्ण रहँदै आएको छ।
हालै अबुधाबीस्थित नेपाली दूतावासमा आयोजना गरिएको “गैरआवासीय नेपालीहरूको राष्ट्र निर्माणमा योगदान” कार्यक्रम र यूएईमा सम्पन्न छैटौँ मध्यपूर्व क्षेत्रीय बैठकले पनि एनआरएनएको प्रभाव र विश्वसनीयता थप मजबुत बनाएको थियो।
उपाध्यक्षका रूपमा सक्रिय भूमिका निभाउँदै आएका ठकुरी श्रमिक समस्या समाधान, संगठन विस्तार तथा समुदायिक समन्वयमा अग्रसर नेताका रूपमा परिचित छन्। अध्यक्षमा चयन भएपछि उनले भने, “यो सम्मान मात्र होइन, ठूलो जिम्मेवारी पनि हो। यूएईमा रहेका प्रत्येक नेपालीका लागि म इमानदार र समर्पित भएर काम गर्नेछु।”
एनआरएनए आईसीसीका पदाधिकारीहरूले ठकुरीको नेतृत्व क्षमताको प्रशंसा गर्दै नयाँ कार्यसमितिले यूएईमा रहेका नेपालीहरूको श्रम, कानुनी तथा सामाजिक हकहितका विषयमा अझ सबल आवाज उठाउने अपेक्षा व्यक्त गरेका छन्।



























